
काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले आफू उम्मेदवार रहेको झापा-५ को सुकुम्बासी समस्या समाधान गर्न एक सय दिनमा आयोग बनाउनेसहितका प्रतिबद्धतासहित चुनावी वाचा पत्र सार्वजनिक गर्नुभएको छ ।
'थिति बसाल्ने संकल्प’ कार्यान्वयनको नेतृत्व लिने प्रतिबद्धतासहित शाहले चुनावी वाचापत्र सार्वजनिक गर्नुभएको हो । उहाँले रास्वपा नेतृत्वमा सरकार गठन भएको सय दिनमा सुकुम्बासी समस्या समाधान गर्न आयोग र एक हजार दिनमा समाधानको नीति अवलम्बन गरिने उल्लेख गर्नुभएको छ ।
त्यस्तै, नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यावहारिक रूपमा पुर्याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ।
राष्ट्रहितविपरित कुनै पनि सम्झौता नगर्ने, सार्वजनिक सेवालाई चुस्तदुरूस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने वाचा पत्रमा उल्लेख छ । विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिने, झापा-५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्ने र राजनीतिलाई सेवा बनाउने वाचापत्रमा उहाँले उल्लेख गर्नुभएको छ ।
शाहले निर्वाचन क्षेत्रकेन्द्रित शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका, पर्यटन तथा उद्योग, खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृति क्षेत्रमा विभिन्न योजना सार्वजनिक गर्नुभएको छ।

