निर्वाचन प्रचारमा भौतिक स्वरूपका चुनाव चिन्ह प्रयोग नगर्न आयोगको आग्रह

फाल्गुन ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन प्रचारमा भौतिक स्वरूपका चुनाव चिन्ह प्रयोग नगर्न आयोगको आग्रह

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि १० दिन बाँकी रहेको छ । 

यसबीचमा दलहरूले चुनावी गतिविधि तिव्र पारेका छन् भने निर्वाचन आयोगले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार गर्दा भौतिक स्वरूपका निर्वाचन चिन्ह प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई अनुरोध गरेको छ । 

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै राजनीतिक दल वा उम्मेदवारसँग यस्तो आग्रह गरेको हो । कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी आफ्नो निर्वाचन चिन्ह भने प्रयोग गर्न सक्ने आयोगले जनाएको छ । आयोगले तोकेको मापदण्ड विपरित कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेको भौतिक स्वरूपका निर्वाचन चिन्ह लिएर निर्वाचन प्रचारप्रसार गर्दा सुरक्षा जोखिम बढ्ने आयोगको भनाइ छ । 

चुनावमा भाग लिने राजनीतिक दल वा उम्मेदवारले यस्ता किसिमका भौतिक स्वरूपका निर्वाचन चिन्ह प्रयोग गरी निर्वाचन प्रसाचरप्रास गर्दा आम जनमानसमा सुरक्षामा असर पर्ने आयोगको बुझाइ छ । साथै निर्वाचन आचारसंहितामा तोकिए बमोजिमको मापदण्ड बमोजिम दलको झण्डा र चुनाव चिन्हको माध्यमबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगले अनुरोध गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.