स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैन : सूचना अधिकारी घिमिरे

फाल्गुन ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैन : सूचना अधिकारी घिमिरे

काठमाडौं । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसार गर्न नपाउने स्पष्ट पार्नुभएको छ ।

केही स्थानीय तहका जनप्रतिनिधिहरूले दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भन्ने गुनासो प्राप्त भएको उल्लेख गर्दै उहाँले उक्त कार्य आचारसंहिता विपरित भएको बताउनुभएको हो । उहाँले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रभित्र कुनै पनि दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने व्यवस्था रहेको जानकारी दिनुभयो । 

उहाँकाअनुसार निर्वाचन आचारसंहिताको दफा ५ को (क)को देहाय ४ अनुसार स्थानीय तहका जनप्रतिनिधिले आफ्नो स्थानीय तहभित्र कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नहुने स्पष्ट उल्लेख छ । सो व्यवस्थाविपरित क्रियाकलाप नगर्न आयोगले जनप्रतिनिधिहरूलाई आग्रह गरेको छ । 

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले स्वीकृत गरेको कार्यतालिका बमोजिम फागुन ४ गतेदेखि १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने व्यवस्था छ । आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न सबै पक्षलाई अनुरोध गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.