
रामेछाप । यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा रामेछापमा तयारीले तीव्रता पाएको छ।
जिल्ला निर्वाचन कार्यालयकाअनुसार जनशक्ति व्यवस्थापनदेखि मतदाता नामावली, सामग्री ढुवानी र तालिम कार्यक्रमसम्मका काम अन्तिम चरणमा पुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सञ्चालनका लागि मतदान अधिकृत २ सय ३०, सहायक मतदान अधिकृत २ सय ३०, सहायक कर्मचारी ६ सय ८४ र सहयोगी कर्मचारी १ सय ३० गरी कुल १ हजार ३७४ जना कर्मचारीको विवरण आइतबार नै सार्वजनिक गरिसकेको छ ।
कुल २ हजार ४२२ जना अस्थायी मतदाता रहेको रामेछापमा निर्वाचन आयोगले अस्थायी मतदानका लागि जिल्ला कारागार र सघन सहरी तथा भवन निर्माण कार्यालयमा गरी दुई वटा केन्द्र तोकेको जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेले बताउनुभयो ।
सामग्री व्यवस्थापनतर्फ कार्यालयबाट ३७ थरि र आयोगबाट १४ थरि सामग्री प्राप्त भइसकेको र सोमबार मतपत्र आइपुगेको उहाँले बताउनुभयो । उहाँकाअनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि फागुन १२ देखि १४ गतेसम्म मन्थली माविमा तालिम कार्यक्रम आयोजना गरिएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रक कार्यालय, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो ।
निर्वाचन खर्च पारदर्शी बनाउन आयोगको कार्यविधिअनुसार उम्मेदवारले बैङ्क खाता खोल्नुपर्ने व्यवस्था रहेकोमा रामेछापका १७ उम्मेदवारमध्ये ११ जनाले खाता खोलेर सिफारिस लिइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार मतगणना स्थल भने विगतझैँ यसपटक पनि मालपोत कार्यालयमै तोकिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रामेछापमा यो निर्वाचनका लागि १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लाभर ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्रहरू निर्धारण गरिएको छ ।