
काठमाडौं । निर्वाचन आयोगले मतदानमा जनसहभागिता उत्साहजनक बनाउन भन्दै तीन दिन सार्वजनिक बिदाका लागि सरकारलाई सिफारिस गरेको छ ।
निर्वाचनमा जनताको उत्साह र उल्लेख्य सहभागिता होस् भनेर फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरिएको आयोगले जनाएको छ । फागुन २३ गते शनिबार हो । सरकारले आयोगको सिफारिस कार्यान्वयन गरे तराईमा लगातार पाँच दिन बिदा हुनेछ भने पहाडमा चार दिन बिदा हुनेछ ।
फागुन १८ गते पहाडी क्षेत्रमा फागुपूर्णिमाको बिदा छ भने तराई मधेशमा १९ गते होलीको बिदा छ । यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावले मुलुकलाई लयमा फर्काउने बताउँदै तोकिएकै समयमा निर्वाचन हुनबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ ।