
बर्दिया । बर्दियाको राजापुर कर्णाली नदीको भङ्गालोले घेरेको टापुको रूपमा परिचित छ ।
अन्न भण्डारको रूपमा चिनिएको यो क्षेत्रमा बर्षेनि नदी कटान, बाढी, मलखाद र सुविधासम्पन्न विद्यालयको अभावलगायतका समस्याले गाँजिरहेको छ । निर्वाचनका समय उम्मेदवारले समस्या समाधानका लागि विभिन्न वाचा गरे पनि जितेपछि फर्किएर नआउँदा नागरिकले परिवर्तनको अनुभूति गर्न मात्र पाएका छैनन् उम्मेदवारले मत माग्न गरेका वाचा पनि पूरा गरेका छैनन् ।
पटक-पटक दिएका वाचा पूरा नगर्ने उम्मेदवारबाट आजित भएका मतदाताको यस पटकको मनोविज्ञान के छ ? बर्दियाको पश्चिम क्षेत्र कर्णाली र यसको भंगालो गेरूवा नदीले घेरिएको राजापुर टप्पु बाहिरबाट हेर्दा जति सुन्दर छ यसको वास्तविकता भने कहालीलाग्दो छ ।
यस क्षेत्रमा नहरको सुविधा नभएकाले खेती गर्न किसानले आकाशे पानीको भर पर्नुपर्छ । अधिकांश स्थानीय निर्वाहमुखी कृषिमा आश्रित रहे पनि हरेक वर्ष खेती गर्ने समयमा किसानले मलखाद पाउँदैनन् । गाउँमा कालोपत्रे सडक पनि छैन । तर निर्वाचनका बेलामा विगतमा जस्तै उम्मेदवारहरू मतदाता प्रभावित पार्न आश्वासन दिइरहेका छन् ।
राजापुरका किसानको मुख्य समस्या भनेको सिँचाइको अभाव हो । प्राथमिक तहको विद्यालय भए पनि माथिल्लो कक्षा पढाउन गाउँबाट टाढा जानुपर्ने बाध्यता छ । वर्षात्का समयमा हिँड्डुल गर्न समस्या भए पनि कुनै नेता वा दलले यहाँको मुल समस्याप्रति चासो देखाएका छैनन् । सुविधासम्पन्न सडक नभएकै कारण वर्षायाममा बालबालिकालाई स्कुल पठाउन अभिभावकलाई सकस छ ।
कर्णाली र बुढी खोलामा बर्षेनि आउने बाढी र कटान यस क्षेत्रको अर्को समस्या हो । चुनावका बेला मतदाताका समस्यालाई मुद्दा बनाए पनि विगतमा निर्वाचन जितेका मात्र नभइ मन्त्री भए पनि यो माटोका समस्या राज्यले चिन्न सकेको छैन । तर उम्मेदवारहरू पुरानै समस्या देखाएर फेरि पनि चुनाव जित्ने अस्त्र मात्र प्रयोग गरिहेका छन् ।
राजापुरका समस्या समाधानभन्दा पनि चुनाव जित्ने भर्याङका रूपमा यहाँका समस्या पूरा गर्ने आश्वासन बाँडिरहेका छन् । यहाँका स्थानीयको मूल समस्या समाधानतर्फ उम्मेदवार र दलहरूले चासो देखाउन आवश्यक छ । यहाँका स्थानीयले वर्षौंदेखि भोगीरहेका समस्या समाधान भन्दा पनि भावनामा खेलेर चुनाव जित्ने अस्त्र मात्र बनाउन खोजे मतदाताले समस्या समाधान गर्ने उम्मेदवार चयन गर्ने निश्चित छ ।