
महोत्तरी । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सर्वदलीय समन्वय बैठक सम्पन्न भएको छ ।
बैठकले निर्वाचन प्रक्रियालाई मर्यादित र नियमसम्मत बनाउन साझा प्रतिबद्धता व्यक्त गरेको प्रशासनले जनाएको छ । बैठकमा निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्ने, सरकारी स्रोत साधनको दुरूपयोग नगर्ने तथा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारलाई अनुशासित ढंगले सञ्चालन गर्ने सहमति गरिएको छ ।
मतदान प्रक्रियालाई सहज बनाउन मतदान अधिकृत र कर्मचारीलाई आवश्यक सहजीकरण गर्ने तथा उनीहरूलाई निष्पक्ष र भयरहित वातावरणमा जिम्मेवारी निर्वाह गर्न सबै निकायले सहयोग गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ । जिल्लाको बहुभाषिक र बहुसांस्कृतिक परिवेशलाई ध्यानमा राख्दै धर्म, जाति, भाषा वा समुदायबीच वैमनस्य फैलाउने गतिविधि नगर्न सबै पक्ष सहमत भएका छन् ।
चुनावी प्रचारका क्रममा दलहरूबीच झडप वा अवरोध हुन नदिन कार्यकर्तालाई संयमित रहन निर्देशन दिने निर्णय पनि गरिएको छ । सामाजिक सञ्जालको प्रयोग मर्यादित बनाउन चरित्र हत्या, घृणास्पद अभिव्यक्ति तथा भ्रामक सूचना फैलाउने गतिविधि रोक्न दलहरूले आफ्ना प्रचार संयन्त्रलाई सचेत गराउने सहमति भएको छ ।
सम्भावित विवाद स्थानीय तहमै संवादमार्फत समाधान गर्दै सुरक्षा निकायसँग निरन्तर समन्वय गर्ने निर्णय समेत गरिएको छ । निर्वाचन जुलुस, आम सभा तथा प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्ने र विद्यालय क्षेत्रलाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने सहमति बैठकले गरेको छ ।
निर्वाचनको दिन अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधन सञ्चालन बन्द रहने तथा उम्मेदवार र निर्वाचनमा खटिने व्यक्तिले पास लिएर मात्र आवतजावत गर्न पाउने व्यवस्था मिलाइने प्रशासनले जनाएको छ । बैठकले मिथिला माध्यमिकी परिक्रमामा नेपाल प्रवेश गरेका विशेषगरी भारतीय दर्शनार्थीलाई सीमा सिल हुने अवस्थालाई ध्यानमा राखी फागुन १८ भित्र सुरक्षित रूपमा फिर्ता हुन जानकारी गराउने निर्णय गरेको छ ।
उम्मेदवारलाई सुरक्षा चुनौती देखिए आवश्यक सुरक्षा व्यवस्था मिलाइने पनि प्रशासनले स्पष्ट पारेको छ । आसन्न होली पर्वलाई सुरक्षा संवेदनशीलता ध्यानमा राखी मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गर्दै सार्वजनिक स्थलमा भीडभाड गरेर सामूहिक होली मनाउन रोक लगाउने निर्णय गरिएको छ ।
निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै फागुन १८ देखि २१ गतेसम्म भारतीय नम्बर प्लेटका सवारी साधनलाई भन्सार सुविधा नदिने निर्णय गरिएको छ । साथै मतदानभन्दा सात दिनअघि जिल्लाभर मदिराजन्य पदार्थको बिक्री वितरण र सेवन पूर्णरूपमा निषेध गरिने तथा सीमा क्षेत्रमा हुने अवैध मदिरा कारोबार नियन्त्रणका लागि संयुक्त अनुगमन टोली परिचालन गरिने प्रशासनले जनाएको छ ।
विदेशबाट मतदान गर्न आउने नेपाली नागरिकलाई सीमा सिल हुनुअघि अर्थात् फागुन १७ भित्र नेपाल प्रवेश गर्न सार्वजनिक अपील गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रशासनले यी निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न राजनीतिक दल, स्थानीय तह र सुरक्षा निकायबीच सक्रिय सहकार्य आवश्यक रहेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आइतबार बसेको बैठकमा जिल्लास्थित सक्रिय राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।