
राजविराज । सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको लापरबाहीले एक जना सुत्केरी महिलाको मृत्यु भएको भन्दै अहिले अस्पताल अगाडि प्रदर्शन भइरहेको छ।
अस्पताल अगाडि जम्मा भएका आफन्तहरूले घटनाको निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग गर्दै नाराबाजी गर्नुका साथै सडकजाम गरेका हुन्। विष्णुपुर गाउँपालिकाकी २३ वर्षीया सुजानदेवी सदा उपचारको क्रममा मृत्यु भएको हो। गर्भावस्थामा पीडा सुरू भएपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो।
शनिबार चिकित्सकले गर्भमा रहेको शिशुले दिसा निलेको भन्दै तत्काल शल्यक्रिया गरेको थियो। राति शल्यक्रिया सम्पन्न भई पोस्ट-अपरेटिभ वार्डमा राखिएकी सुजानको अवस्था सामान्य रहेको बताइए पनि आइतबार बिहान उनको मृत्यु भएको हो।
सुत्केरी महिलाले बिहान करिब ३ बजे बान्ता गर्न थालेपछि चिकित्सक खोज्दा वार्डमा स्वास्थ्यकर्मी नभेटिएको आरोप परिवारको छ। उनीहरूले उपचारमा लापरबाही भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। यता अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा शल्यक्रिया विशेषज्ञ चिकित्सक दिलीप साहले भने शल्यक्रियामा कुनै त्रुटि नभएको बताउनुभएकाे छ ।
सुत्केरीलाई बान्ता हुँदा अन्न श्वासनलीमा अड्किएर मृत्यु भएको उहाँको भनाइ छ। घटनापछि अस्पताल परिसरमा तनावपूर्ण अवस्था छ। अस्पताल अगाडि व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।