जनमत पार्टीको जेन-जी युवाहरूद्वारा राजविराजमा प्रदर्शन

अध्यक्ष सीके राउतले दिनुभयाे चुनावलक्षित प्रशिक्षण
फाल्गुन ९, २०८२ |आरएन विश्वास
जनमत पार्टीको जेन-जी युवाहरूद्वारा राजविराजमा प्रदर्शन

राजविराज । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मधेशका शीर्ष नेता उम्मेदवार रहेको सप्तरी-२ मा चुनावी माहोल तात्दै गएको छ।

यसैक्रममा शनिबार राजविराजमा सीके राउत नेतृत्वको जनमत पार्टी आबद्ध जेनजी युवाहरुद्वारा प्रदर्शन गरिएको छ। स्थानीय राजदेवी मैदानबाट निस्किएको युवाको प्रदर्शन राजविराजको मुख्य-मुख्य बजार परिक्रमा गरेको थियो।

त्यसअघि युवाहरुलाई अध्यक्ष राउतले चुनावलक्षित प्रशिक्षण समेत दिनुभएको थियो। चुनावको बेला आफ्नो बुथ र मतदाताको सुरक्षा गर्नु अतिआवश्यक भएको भन्दै अध्यक्ष राउतले त्यसतर्फ केन्द्रित हुन युवा दस्तालाई आग्रह गर्नुभयो।

पार्टी कार्यकर्ताबीच कुनै मनमुटाव भए त्यसलाई अहिले थाँती राख्दै पहिला निर्वाचनको लडाइँ जित्न आग्रहसमेत अध्यक्ष राउतले गर्नुभयो। आफुहरू आफ्ना कुनै एजेन्डाबाट पछि नहटेको जनाउँदै अध्यक्ष राउतले जनता राज ल्याउन गरिब, दलित, मुस्लिम तथा पिछडिएका सिमान्तकृत वर्गको पक्षमा हमेसा लागिपरेको दाबी गर्नुभयो।

जनमत पार्टीका नेता महेश यादवले पनि आफुहरुले ल्याएको रोजगारीको चुनावी मुद्दा अहिले अधिकांश पार्टीको मुद्दा बनेको देख्दा जनमतको जित भएको विचार व्यक्त गर्नुभयो। उहाँले जनमत पार्टीको मुख्य एजेन्डा नै विकास र निकास भएको स्पष्ट पार्नुभयो।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।