
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गर्नुभएको छ ।
उहाँले एक हप्ताभित्र फागु पूर्णिमा (होली) पर्व आउँदै गरेको र हिमाली क्षेत्र खासगरी रूकुम पूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्याहरू देखा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले विभिन्न जिल्लाहरूमा स्थानीय समस्या रहेको उल्लेख गर्दै तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय रहेको र तिनीहरूबीचको प्रतिस्पर्धा झडपको रूपमा बदलिन सक्ने आशंका व्यक्त गर्नुभयो ।
पार्टीहरूबीच झन्डा जलाउने जस्ता घटना पनि रिपोर्ट भएका र जसले निर्वाचनको समयमा तनाव बढाउनसक्ने उहाँले बताउनु भयो । यस्ता सम्भावित घटनाबाट बच्न पूर्वतयारी आवश्यक रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । निर्वाचन बहिस्कार गर्ने समूहहरूबारे बोल्दै उहाँले यस्ता बहिस्कारकर्ताहरूको प्रभावकारिता कमजोर देखिएको उहाँले बताउनु भयो ।
उहाँकाअनुसार कतिपयले निर्वाचन बहिस्कारको नाममा पार्टीको अस्तित्व देखाउने र एक्सटर्सन (चन्दा-पैसा असुली) गर्ने प्रवृत्ति अपनाएका छन् । कसैले व्यापार वा उद्योग गरेको देखाएर पार्टी चलाउने गरेको पनि उहाँले उल्लेख गर्नुभयो । यद्यपि, यस्ता गतिविधिप्रति सतर्क रहनुपर्नेमा जोड उहाँले दिनुभयो ।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो ।