सुनसरी- १ को निर्वाचनमा धरानको मत निर्णायक

फाल्गुन ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनसरी- १ को निर्वाचनमा धरानको मत निर्णायक

धरान । यसपालिको निर्वाचनमा अत्यधिक चासोमा रहेको क्षेत्र मध्ये एउटा हो, सुनसरी-१ । 

मतदानको मिति नजिकिँदै जाँदा सुनसरी-१ मा दल तथा उम्मेदवारहरूले आ-आफ्ना प्रचारप्रसारलाई आक्रामक रूपमा अघि बढाएका छन् । दल र स्वतन्त्रसहित २८ उम्मेदवार चुनावी मैदानमा उत्रिएको यस क्षेत्रमा कसको पल्ला भारी छ ? र, चुनावी नतिजा प्रभावित पार्नसक्ने तत्त्व के-के हुन् ?

आफूलाई प्रधानमन्त्रीकै दाबेदार मानेर प्रतिस्पर्धामा उत्रिएका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङका कारण यसपटक सुनसरी-१ व्यापक चासोमा छ । तर स्थानीय सरकारको जनादेश लत्याएर संसदीय राजनीति प्रवेश गर्ने साम्पाङको चेष्टा कति सफल हुन्छ भन्ने चाहिँ विभिन्न ‘फ्याक्टर’ले निर्धारण गर्ने देखिन्छ । 

सुनसरी-१ मा यसपटक विगतभन्दा फरक नतिजा देखिने हामीसँग कुराकानी गरेका अधिकांश मतदाता बताउँछन् । १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेको यो क्षेत्रमा हामीले करिब दुई दर्जन मतदातासँग कुरा गर्दा झन्डै ८० प्रतिशतले विगतमा जाहेर गरेको मत यसपटक बदल्ने बताए । चुनावी प्रक्षेपणका लागि यो स्याम्पल थोरै भए पनि, प्रतिनिधि भने हो ।

यहाँबाट उम्मेदवारी दिएका स्वतन्त्रसहित २६ जनामा १९ दलका उम्मेदवारमा खासगरी श्रम संस्कृति पार्टी, रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच नै प्रतिस्पर्धा हुने देखिएको मतदाता बताउँछन् । त्यसमा पनि श्रम संस्कृति र रास्वपाजस्ता ०७४ सालको निर्वाचनपछि उदाएका दलप्रति मतदाताको रूझानले सुनसरी-१ को चुनावी समीकरण बदल्न मुख्य भूमिका निर्वाह गर्ने देखिन्छ ।

सुनसरी-१ को दोस्रो फ्याक्टर हो- धरान । धरान उपमहानगरभित्रका २० वटा वडाको मत सुनसरी-१ मा निर्णायक हुने गरेको छ । कुल मतदातामध्ये धरानका २० वटा वडामा मात्रै १ लाख १० हजार ९ सय ३९ जना छन् । त्यसैगरी बराहक्षेत्र नगरपालिकाका ५ वटाका २८ हजार २ सय ४१ र रामधुनी नगरपालिकाका २ वटा वडामा ११ हजार २ सय १३ मतदाता छन् । 

विगतका निर्वाचन परिणाम हेर्दा जुन उम्मेदवारले धरानको मत बढी पाउँछन् उही विजयी हुने देखिन्छ । निर्वाचन आयोगका अनुसार सुनसरी-१ मा आदिवासी जनजाति मतदाताको संख्या ७६.९२ प्रतिशत रहेको छ भने खस आर्यको १५.३८ प्रतिशत रहेको छ । त्यसैगरी दलित मतदाता ७.६९ प्रतिशत रहेको छ ।

धरानको जनसांख्यिक बनावट हेर्ने हो भने यहाँ जनजाति समुदायको बाहुल्य देखिन्छ । धरान उपमहानगरपालिकाले दिएको मतदाताको तथ्याङअनुसार राई १९.४ प्रतिशत रहेको छ भने लिम्बु १३.०१ प्रतिशत रहेको छ । त्यसैगरी नेवार ११.१ र तामाङ ७. ३ प्रतिशत रहेको छ । 

धरान उपमहानगरभित्र क्षेत्री १०.७ र बाहुन ७.१ प्रतिशत छ भने माडवाडी ३.१ प्रतिशत रहेको छ। त्यसैगरी कामी ६.२ प्रतिशत, कुशुवाहा १.१ यादव ०.९६ थारू ०.५५ प्रतिशत रहेको छ। यस्तै अन्य २०.६९ प्रतिशत जनसंख्या रहेको छ । हुन त नेपाली समाज जातीय रूपमा यति ध्रुविकृत पनि छैन । तर विगतका दृष्टान्त हेर्ने हो भने जनजाति उम्मेदवार नै विजयी हुने गरेको देखिन्छ । 

जस्तो, २०६४ मा माओवादी केन्द्रका किरणकुमार राईले जितेका थिए । २०७० मा कृष्णकुमार राईले विजय प्राप्त गर्नुभएको थियो भने २०७४ मा जयकुमार राई र २०७९ मा अशोक राई सुनसरी-१ बाट निर्वाचित हुनुभएको थियो । यही वास्तविकता बुझेरै होला यसपटक यहाँ कांग्रेस, एमाले, श्रम संस्कृति पार्टीले र रास्वपाले जनजाति समुदायका उम्मेदवारलाई नै अगाडि सारेका छन् । 

कांग्रेसले सुजेन्‍द्र तामाङ, एमालेले टीकाराम लिम्बु, श्रम संस्कृति पार्टीले हर्कराज साम्पाङ र रास्वपाले गोमा तामाङलाई उम्मेदवार उठाएको छ । नेपाली कम्युनिष्ट पार्टीले भने सूर्यबहादुर भट्टराईलाई उम्मेदवार बनाएको छ । तर यही निर्णायक फ्याक्टरलाई नेपाली कम्युनिष्ट पार्टीले भने आफ्नो पक्षमा नतिजा आउने सम्भावनाका रूपमा आकलन गरेको छ ।

धरान केन्द्रमा रहेको सुनसरी-१ को चौथो निर्णायक पक्ष हो- खानेपानी । काकाकुल धरानको प्यास मेट्ने मुख्य वाचासहित मेयर निर्वाचित हर्क साम्पाङका गतिविधिको पछिल्ला वर्षहरूमा निकै चर्चा भयो । उहाँले सर्दु र कोकाहा खोलाबाट धरानमा खानेपानी झार्नुभयो पनि, तर यो दिगो समाधान भने थिएन । 

त्यसकारण धरानमा खानेपानीको राजनीतिले ठूलो संख्यामा भोट स्विङ गराउन सक्छ । यसमानेमा साम्पाङलाई थोरै अनुकूलता मिल्न सक्ने देखिन्छ । यस्तै अहिले पनि उपमहानगरभित्रै कतिपयले लालपूर्जा पाएका छैनन् । सडक पूर्वाधारमा पनि समस्या नै रहेको मतदाताहरूको गुनासो छ । 

यी विविध कारणले नयाँ भनिएका दल र हर्क साम्पाङलाई थोरै अनुकूलता भए पनि सुनसरी-१ मा कसको भाग्य खुल्छ त्यो भने २१ फागुनपछि नै थाहा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.