
बुटवल । चुनाव नजिकिएको छ । राजनीतिक दल र उमेदवार भोट माग्दै घरदैलो गरिरहेका छन् ।
तर, बुटवलकै ग्रामिण क्षेत्र सिम्रिक गाउँका महिला मतदातालाई चुनावी रौनकले छोएको छैन । उनीहरू आफ्नै काम र घरधन्दामा व्यस्त छन् । भोट हाल्न दल होइन विकास गर्ने नेताको खोजीमा छन् । ७० वर्ष पुग्दासम्म दिलकुमारीलाई दुःखले छोडेको छैन ।
घरधन्दा र पशुपालनमा सक्रिय दिलकुमारी चुनाव नजिकिँदै जाँदा भोट हाल्ने तरखरमा हुनुहुन्छ । तर, कसलाई दिने थाहा छैन । दिलकुमारीलाई यति थाहा छ कि आफ्नो भोट खेर नजाओस् र आफ्नो दुःख हटाइदेओस् । कृषि र पशुपालनमा संलग्न यहाँका मतदाता बुटवल उपमहानगर समृद्ध बन्दै गए पनि आफ्नो गाउँमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, सडक, व्यवसायिक कृषिको विकासका लागि आवश्यक पहल नभएको गुनासो गर्छन् ।
यही कारण उनीहरू आफ्ना कुरा सुन्ने र विकास गर्ने नेता छान्ने र भोट दिने पर्खाइमा छन् । साविक मोतीपुर गाउँपालिकामा रहेको यो सिम्रिक गाउँ २०७१ सालमा बुटवलमा गाभिएर बुटवल उपमहानगरपालिका बन्यो । तर, उपमहानगरमा गाभिए पनि आर्थिक, भौतिक र सामाजिक विकासमा फड्को मार्न नसकेको उनीहरूको गुनासो छ ।
त्यसैले उनीहरू यसपालि जुनसुकै दल भए पनि आफ्नो गाउँको विकास गर्ने व्यक्ति रोज्ने योजनामा छन् । प्रतिनिधि सभाको यो चुनाव गाउँटोलको विकास गर्ने स्थानीय तहको जस्तो चुनाव होइन । तर, बुटवलको ग्रामिण भेगका महिलाहरू अब जे सुकैको चुनाव भए पनि देशको व्यवस्था होइन सबैभन्दा पहिला आफ्नो अवस्था फेरियोस् भन्ने चाहेका छन् ।