
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद् भवन निर्माणको गति बढाउन निर्देशन दिनुभएको छ ।
भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उहाँले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिनुभएको हो । अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै निर्माणको तिव्रता नदेखिएको स्पष्ट पार्नुभयो ।
यद्यपि, पछिल्लो समय केही प्रगति भएको उहाँको भनाइ छ । सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ धेरै पटक निर्देशन दिइसकेको उहाँले बताउनु भयो । उहाँले केही दिनअघि मात्रै सहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको जानकारी दिनुभयो ।
अध्यक्ष दाहालकाअनुसार सम्पूर्ण भवन परिसरका सबै काम तत्कालै नसकिए पनि कम्तिमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन हुने हलहरू तयार हुनुपर्नेछ । निर्वाचन पछिको सदन नयाँ भवनमै चलाउने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाब दिइएको उहाँको भनाइ छ ।
नयाँ संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै अध्यक्ष दाहालले फिनिसिङ र अन्य प्राविधिक पक्षहरूमा पनि ध्यान दिन आग्रह गर्नुभएको छ । आगामी अधिवेशनसम्म मुख्य हलहरू हस्तान्तरण हुनेमा उहाँले आशा व्यक्त गर्नुभएको छ ।