
बाजुरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तिव्र भइरहेको छ ।
निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले मतदानका लागि चाहिने आवश्यक सामग्री पठाएको छ । आयोगले पठाएको निर्वाचन सामग्री जिल्लामा पुगेको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीले जानकारी दिनुभयाे ।
उहाँले केही सामग्री निर्वाचन आयोगले पठाएको र केही सामग्री निर्वाचन कार्यालयले खरिद गरेर मंगलबार बेलुकी कार्यालयमा पुगेको जानकारी दिनुभयाे । यहाँका एक सय १८ मतदान केन्द्रमा हुने फागुन २१ गतेको निर्वाचनका लागि चाहिने आवश्यक सामग्री खरिद गरी कार्यालयमा आइपुगेको निर्वाचन अधिकारी शाहीले बताउनुभयाे ।
मतदान केन्द्रमा चाहिने सियोदेखि कपडालगायतका सामग्री पुगेको हो । निर्वाचनमा खटिने कर्मचारीलाई चाहिने आवश्यक सामग्री पुगेकाले निर्वाचनको तयारी अन्तिम चरणमा पुग्न लागेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । निर्वाचनका लागि कर्मचारी खटनपटन बाहेकको काम भइरहेको छ ।
निर्वाचनका मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित कर्मचारी छनोट गर्ने कार्य मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरिरहेको बताइएको छ । यहाँका ७७ मतदानस्थलको एक सय १८ मतदान केन्द्र रहेका छन् । तीमध्ये ६२ अतिसंवेदनशि, १२ संवेदनशिल र अन्य सामान्य रहेका छन् ।
यहाँ ८७ हजार ८६१ मतदाता रहेका छन् । तीमध्ये महिला ४२ हजार ४३१, पुरूष ४२ हजार ४२८ र अन्य दुई जना रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।