तिनाउ गाउँपालिका-४ का मतदाता भन्छन् : ‘खानेपानीको ग्यारेन्टी गर्नेलाई भोट’

फाल्गुन ६, २०८२ |माधव अर्याल
तिनाउ गाउँपालिका-४ का मतदाता भन्छन् : ‘खानेपानीको ग्यारेन्टी गर्नेलाई भोट’

पाल्पा । संघीय, प्रदेश र स्थानीय सरकारले 'एक घर एक धारा' खानेपानी अभियानको नारा दिएको सात वर्ष बितिसकेको छ, तर पाल्पाको तिनाउ गाउँपालिका-४ का ३ सय बढी परिवार भने वर्षौदेखि खानेपानी समस्या झेल्दै आएका छन् । 

निर्वाचनका बेला उम्मेदवारहरूले खाने पानीलाई प्रमुख नारा बनाएर मत माग्दै आए पनि अहिलेसम्म समस्या ज्यूँकात्यूँ छ । तिनाउ गाउँपालिका-४ अन्तर्गत दह, छाप, थपनडाँडा, बौरीडाँडा, सत्यवती, लगाडलगायतका गाउँमा अहिले पनि पानीको समस्या छ । 

यी गाउँमा झन्डै तीन सय घरपरिवारको बसोबास छ । यहाँका स्थानीयले हरेक पटक भोट माग्न आउने उम्मेदवाहरूलाई खानेपानी योजना सञ्चालनको माग गर्दै नआएका पनि होइनन् । तर चुनाव जित्नका लागि मात्रै आश्वासन बाँड्ने नेताहरूको बानीले यहाँको समस्या अझै उस्तै छ ।

चैत वैशाख महिनामा रातभर पानी खोज्दै हिँड्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ । यहाँका गाउँका बासिन्दाले डोकोमा पानी बोक्न टुटेको छैन । यहाँका बस्तीमा खानेपानीको समस्या भएपछि रन्डाकुवा, बुढासिंह गैरा, ड्याडुङकुवा, धारादी गैराबाट पानी बोकेर ल्याउनुपर्ने वर्षौंदेखिको बाध्यता हो । 

यहाँका बासिन्दा बिहान दुई तीन बजेदेखि नै धारा, कुवा खोज्दै हिँड्नुपर्छ । पहुँचका आधारमा पाल्पाका अन्य गाउँमा दोहोरो, तेहोरो खानेपानी योजना सञ्चालन भएका थुप्रै उदाहरण छन् । यहाँ भने धेरै पुराना योजनासमेत जेनतेन चलेका छन् । खानेपानी समस्या समाधानका लागि डियाङ्खोला लिफ्टिङ खानेपानी योजना २०७८ सालमा सुरू भए पनि अहिलेसम्म एउटा टंकी मात्र बनेर अलपत्र छ । 

त्यसैले यहाँका मतदाता यसपटक भोटबैंक मात्र बन्ने नभइ गाउँमा खानेपानी ल्याइदिने ग्यारेन्टी गर्नेलाई मतदान गर्ने योजनामा छन् ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।