दुर्घटनापछि बनेपाकाे अवस्था तनावग्रस्त, अवरूद्ध अरनिको राजमार्ग तीन घन्टापछि सञ्चालनमा

फाल्गुन ६, २०८२ |पुजन धिताल
दुर्घटनापछि बनेपाकाे अवस्था तनावग्रस्त, अवरूद्ध अरनिको राजमार्ग तीन घन्टापछि सञ्चालनमा

काभ्रे । टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि काभ्रेको बनेपाको अवस्था तनावग्रस्त बनेको छ । 

प्रदर्शनका कारण अवरूद्ध अरनिको राजमार्ग तीन घन्टापछि सञ्चालनमा आएको छ । अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपा नगरपालिका क्षेत्रको चाँदनी चोकमा भएको टिपर–स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दुर्घटनामा धुलिखेल-५ श्रीखण्डपुर निवासी ३० वर्षीय ओमन प्रधानको मृत्यु भएको हो। बुधबार बिहान बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका प्रधानलाई घटनास्थलबाट तत्काल अस्पताल लगिएको भएता पनि चिकित्सकले मृत घोषणा गरेका थिए। 

दुर्घटनामा एक जना अन्य व्यक्ति घाइते भएका छन्, जसको उपचार भइरहेको छ। घटनापछि मृतकका आफन्त तथा स्थानीय सर्वसाधारण ठूलो संख्यामा भेला भई आक्रोशित बनेका छन्। आक्रोशित भीडले दुर्घटनामा संलग्न टिपरमा आगजनी गरेको छ, जसका कारण टिपर पूर्णरूपमा जलेर नष्ट भएको छ। आगजनीपछि बनेपा क्षेत्र तनावग्रस्त बनेको थियो र ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।

घटनापछि अवरूद्ध बनेको अरनिको राजमार्ग करिब तीन घन्टा बन्द रहेपछि अहिले सुचारू गरिएको छ। राजमार्ग बन्द हुँदा सवारी आवागमन ठप्प भई यात्रुहरू अलपत्र परेका थिए भने स्थानीय जनजीवन समेत प्रभावित बनेको थियो। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरिसकेको जनाएको छ। 

टिपर चालकको खोजी/नियन्त्रण प्रक्रिया, आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान तथा आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। क्षेत्रभर सुरक्षा सतर्कता बढाइएको छ भने स्थिति नियन्त्रणमा ल्याइएको जनाइएको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।