नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँ : गगन थापा

फाल्गुन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताउनुभएको छ ।

बुधबार राजधानीमा आयोजिक कार्यक्रममा उहाँले अबको पाँच वर्ष खेर नफाल्ने गरी संकल्प र योजनासहित आफूहरू आएको बताउनुभएको हो । उहाँले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताउनु भयो । त्यसलाई सम्बोधन गर्न सुधार आवश्यक रहेको उहाँको भनाइ छ । 

उहाँकाअनुसार विगत १०-१२ वर्षमा जति विकास हुनुपर्थ्याे, त्यो हुन सकेन । तर अबका पाँच वर्ष खेर जान नदिने उहाँले प्रतिबद्धता जनाउनु भयो । सभापति थापाले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने बताउनु भयो । देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ । 

उहाँकाअनुसार राजनीतिक दलहरूसँग विमति हुन्छन्, प्रतिस्पर्धा हुन्छ तर देश बनाउन सबै दल चाहिन्छन् । उहाँले देशमा रहेका सबै राजनीतिक दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता रहेको र त्यो भूमिका नेपाली कांग्रेसले निर्वाह गर्ने दाबी गर्नुभयो । 

आगामी निर्वाचनबाट पपुलिस्ट शक्तिहरू सत्तामा आएमा त्यसको भार नेपालले थेग्न नसक्ने उहाँको भनाइ छ । उहाँले हालको प्रमुख चुनौती देशलाई पपुलिजमबाट जोगाउनु रहेको उहाँले बताउनुभयो । परिपक्व लोकतन्त्र भएका देशहरू समेत पपुलिजमको लहरमा परेको उल्लेख गर्दै उहाँले नेपालजस्तो अझै संस्थागत रूपमा बलियो नभइसकेको लोकतन्त्रका लागि यो थप चुनौतीपूर्ण हुने बताउनु भयो । 

उहाँकाअनुसार विश्वका परिपक्व डेमोक्रेसीहरू पनि पपुलिज्मको शिकार भएका छन् । तर त्यहाँ संस्थाहरू बलिया भएकाले पपुलिजम केही महिनामै ढल्ने गरेको उहाँले बताउनुभयो । नेपालमा संस्थाहरू कमजोर भएको अवस्थामा पपुलिजमले अख्तियारी बोकेर आएमा त्यसको परिणाम गम्भीर हुने उहाँले चेतावनी दिनुभयो ।

उहाँले बौद्धिक व्यक्तित्व तथा पेशाकर्मीहरूलाई पपुलिजमको विरूद्धमा बोल्न पनि आग्रह गर्नुभयो । उहाँले हाल पपुलिजम शक्तिहरूको विरुद्धमा अहिले बोल्न समेत डराउनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । तर प्रश्न गर्न पछि नहट्न उहाँले आग्रह गर्नुभयो । सत्तामा नपुग्दा नै प्रश्न गर्न नपाइने शक्तिहरू सत्तामा पुगे प्रश्न गर्ने अधिकार सुरक्षित नहुने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.