भैरहवाको सिद्धार्थ अटोभिलेज १२ वर्षदेखि अलपत्र, समन्वय अभावले सुनसान

फाल्गुन ५, २०८२ |अमृता अनमोल
भैरहवाको सिद्धार्थ अटोभिलेज १२ वर्षदेखि अलपत्र, समन्वय अभावले सुनसान

बुटवल । तपाईँको सहर बजारमा गाडीमोटर मर्मतलगायतका अटोमेकानिक्स व्यवसायीहरू कहाँ छन् ? 

रूपन्देहीको भैरहवा बजारमा छरिएर रहेका अटो मेकानिक्स व्यवसायीहरूलाई एकै ठाउँमा राख्न सिद्धार्थ अटो भिलेज स्थापना भयो । तर व्यवसायी र नगरपालिकाबीच विकास र व्यवस्थापनमा समन्वय नहुँदा १२ वर्षअघि स्थापित अटोभिलेज अहिलेसम्म अलपत्र छ । 

सिद्धार्थनगर नगरपालिकाले भैरहवा बजारमा छरिएर रहेका ग्यारेज, वर्कशप र अटोमेकानिक्सहरूलाई एकै ठाउँमा व्यवस्थित गरी नगरको सौन्दर्यता बढाउनका भन्दै १२ वर्षअघि सिद्धार्थ अटोभिलेज स्थापना गरेको थियो । तर, २०७० सालमा सम्झौता गरेको अटो भिलेज अझै कार्यान्वयनमा गएको छैन । 

सिद्धार्थनगर नगरपालिकाले पूर्वाधार निर्माण नगरिदिएको भन्दै नगर क्षेत्रका श्रमिक र व्यवसायीहरू अझै अटो भिलेजमा नगएका हुन् । गएका पनि पलायनको अवस्थामा पुगेका छन् । सिद्धार्थनगर नगरपालिका-९ गोनहियामा रहेको सिद्धार्थ अटोभिलेज १२ बिघा क्षेत्रफलमा छ । 

सो जग्गा अटो मेकानिक्स व्यवसायीहरू आफैंले किनेका हुन् । अटोभिलेजमा सडक, विद्युत्‌लगायत आवश्यक पूर्वाधार सिद्धार्थनगर नगरपालिकाले बनाउने सम्झौता गरेको थियो । लामो समयदेखि अलपत्र अटोभिलेजमा अहिले जसोतसो पूर्वाधार बनेको छ । तर, बजारमा रहेका अटो व्यवसायीलाई अटो भिलेजमा जान बाध्य नपार्दा अटोभिलेज सुनसान छ ।

सिद्धार्थ अटोभिलेज भैरहवा बजारबाट केही टाढा छ । यसर्थ सिद्धार्थनगर नगरपालिकाले अटो व्यवसायी तथा अटो मेकानिक्सलाई सिद्धार्थ अटोभिलेजमा लैजाने हो सम्झौताअनुसार अन्यत्र व्यवसाय गर्ने व्यवसायीको व्यवसाय नवीकरण रोक्नुपर्छ । सिद्धार्थ अटोभिलने पुग्न अझैँ पुलको समस्या छ । सिधा जान सडक बनाउनुपर्ने छ ।

भैरहवा बजारलाई सफा र सुन्दर बनाउन अटोभिलेज व्यवस्थापन जरूरी छ । त्यसका लागि २०७० सालमा अटो मेकानिक्स व्यवसायी र नगरपालिकाबीच भएका व्यवसाय प्रवर्द्धनका कामलाई सिद्धार्थनगर नगरपालिकाले कार्यान्वयनमा लैजानुपर्छ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।