दलहरूबाट रोजगारीका खोक्रा वाचा : कामको अवसर नपाउँदा मधेशका युवाहरू विदेशिन बाध्य

फाल्गुन ४, २०८२ |राजेश्वर पाण्डे
दलहरूबाट रोजगारीका खोक्रा वाचा : कामको अवसर नपाउँदा मधेशका युवाहरू विदेशिन बाध्य

राैतहट । रोजगार, युवामा लगानी र स्वदेशमा गरिखाने व्यवस्था । चुनावका बेला अधिकांश दलका प्रतिबद्धता यस्तै हुने गरेका छन् । तर वास्तविकता फरक छ । 

मतदाता लोभ्याउन दल र उम्मेदवारले गर्ने घोषणा कार्यान्वयन नहुँदा तराई-मधेशका अधिकांश युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् । मधेश प्रदेशबाट मात्रै झन्डै दुई लाख मानिस रोजगारीका लागि विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

यो हो रौतहट गरूडा नगरपालिका-४ का बिन्दु साहको परिवार । तीन छोरी र दुई छोरासहित सात जनाको परिवार वैदेशिक रोजगारीको भरमा चलेको छ । सामान्य पढ्न-लेख्न जानेका साहले रोजगार नपाएर विदेश पुगेको केही दिनमा नै जेठो छोरालाई समेत दुबई बोलाउनु भयो । अहिले उहाँको घर वैदेशिक रोजगारी भरमा चलेको छ ।

आफ्नै देशमा रहेर काम गर्ने सबैको मन हुन्छ । तर स्वदेशमा रोजगार र युवामा लगानीको कमीका कारण बर्षेनि विदेशिनेको संख्या भने बढ्दै गएको छ । नेपालबाट प्रत्येक दिन करिब २ हजार २ सय ९९ जना विदेश पलायन हुने गरेका छन् । वैदेशिक रोजगार विभागअनुसार सबैभन्दा बढी मधेश प्रदेशबाट १ लाख ९३ हजार ९६४ जना वैदेशिक रोजगारीमा रहेको छ ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।