
धनकुटा । धनकुटामा साहित्य सिर्जना र प्रस्तुतीलाई निरन्तरता दिन सुरू गरिएको 'चियासँग कविता' कार्यक्रम पछिल्लो समय सर्जकहरूका लागि नियमित र साझा साहित्यिक मञ्चका रूपमा स्थापित हुँदै गएको छ ।
कविता, गीत, गजल र मुक्तकलगायतका सिर्जना प्रस्तुत हुने चियासँग कविताको साहित्यिक मञ्चले सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन मिलेको छ । धनकुटा-७ का घनश्याम बराल 'औलाली' साहित्य सिर्जना र प्रस्तुतीमा रमाउनु हुन्छ । हरेक साता आयोजना हुने चियासँग कविता कार्यक्रममा शिक्षा सेवाबाट निवृत्त औलाली आफ्नो सिर्जनाका साथ सहभागी बन्नुहुन्छ ।
विद्यार्थी दृष्टि श्रेष्ठ पनि विद्यालय समय मिल्दा आफ्ना सिर्जना प्रस्तुत गर्न कार्यक्रममा पुग्ने गर्नुभएको छ । चियासँग कविता कार्यक्रम विद्यार्थी, युवा, स्थापित सर्जक र पेसा निवृत्त व्यक्तिहरूका लागि साझा साहित्यिक थलो बनेको छ । कार्यक्रमले नयाँ र पुराना सर्जकबीच अनुभव आदानप्रदान, सिर्जना प्रस्तुती र साहित्यिक बहसको वातावरण तयार पारेका छ ।
साहित्य प्रेमीहरूका अनुसार यो मञ्चले स्रष्ठाका सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्नु साथै समालोचनात्मक बहसको संस्कार विकास गर्न मद्यत गरेको छ । धनकुटा बसपार्कमा रहेको पत्रकार महासंघमा आयोजना हुने चियासँग कविता कार्यक्रमले आफ्नो पहिलो वार्षिकाेत्सव मनाएको छ ।
उत्सव मनाउन विभिन्न साहित्य स्रष्ठासँगै नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई धनकुटा पुग्नु भएको थियो । साहित्य प्रेमीहरूको सक्रियतामा सुरू भएको चियासँग कविता कार्यक्रमले स्थानीय साहित्यिक गतिविधिलाई जीवन्त र नयाँ उर्जावान बनाइरहेको छ ।