चितवन-२ मा विरासत फर्काउने र जोगाउने होड, मतदाता फकाउँदै रवि

फाल्गुन ३, २०८२ |राजु चौधरी
चितवन-२ मा विरासत फर्काउने र जोगाउने होड, मतदाता फकाउँदै रवि

चितवन । वितगका निर्वाचन र निर्वाचित उम्मेदवारका कारण सधैं चर्चामा रहेको चितवन निर्वाचन क्षेत्र नं २ यस पटक पनि चर्चामा छ । 

दल दर्ता भएको छोटो समयमा उम्मेदवार बन्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ठूलो मतान्तरले विजयी भएपछि चितवनको चर्चा सर्वत्र छ । आसन्न निर्वाचनमा पनि लामिछाने पुरानो विरासत कायमै राख्ने दाउमा हुनुहन्छ भने अन्य दल पनि यस पटक आफ्नो जित कायम राख्न विभिन्न रणनीतिसहित मतदाता रिझाउन घरदैलो अभियानमा लागेका छन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचन र २०८० सालको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा सभापति लामिछाने चितवन-२ बाट भारी मतान्तरले चुनाव जित्नुभयो । पहिलो निर्वाचनमा दिग्गज नेतालाई पराजित गर्नुभएका लामिछानेले उपनिर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा -एमालेका चिनिएका उम्मेदवारलाई सहजै पराजित गर्नुभयो । 

दुई पटक भारी मतान्तरले चुनाव जितेकै कारण यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा रास्वपा आफ्नो पुनः जित हुनेमा ढुक्क छ । लामिछाने जति ढुक्क हुनुहुन्छ, अन्य दलहरू पनि विरासत फर्काउने जोडबलमा लागि परेका छन् । कांग्रेसले लामिछानेसँग प्रतिस्पर्धा गर्न मीना खरेललाई मैदानमा खडा गरेको छ । 

अहिले आफ्नो एजेन्डा लिएर खरेल जनताको घरदैलोमा गइरहनु भएको छ । अहिले पार्टी नेतृत्व र नीति परिवर्तन भएकै कारण यसअघि मत बदलेका कांग्रेसका मतदाता पुनः घरमै फर्किने उहाँको विश्वास छ । २०६४ सालको संविधान सभा निर्वाचनमा यो क्षेत्रमा तत्कालिन नेकपा-माओवादीबाट रामबहादुर थापा विजयी हुन भएको थियो भने त्यसपछिका दुई निर्वाचनमा नेकपा -एमालेका कृष्णभक्त पोखरेल विजयी हुनुभयो । 

त्यसपछिका दुई निर्वाचनमा रास्वपाको वर्चश्व कायम रहँदा एमाले पुरानै विरासत फर्काउने दाउमा छ । एमालेले युवा उम्मेदवार अस्मिन घिमिरेलाई अघि सारेको छ । यसअघि एमाले जित्दा गरेको काम र स्थानीय तहमा एमालेबाट जितेका जनप्रतिनिधिले गरेका कामसँगै आफूले गर्न सक्ने कामको एजेन्डा लिएर उहाँ घरदैलोमा व्यस्त हुनुहुन्छ ।

चितवन क्षेत्र नं.२ भरतपुरका वडाहरू मात्रै नभइ पहाडी भू-भाग समेटिएको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका पनि पर्छ । नेपाली कम्युनिष्ट पार्टी -नेकपाले इच्छाकामनाकै स्थानीय नेता प्रताप गुरूङलाई उम्मेदवार बनाएको छ । उहाँ ४२ बुँदे आफ्नो प्रतिबद्धता पत्र लिएर जनताको घरदैलोमा पुगिरहनु भएको छ ।

भौगोलिक रूपमा समथर र पहाडी भू-भाग समेटिएको यो निर्वाचन क्षेत्रमा अहिले सात महिलासहित २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । १ लाख ३७ हजार १५२ जना मतदाता रहेको यो क्षेत्रमा ४३ मतदान स्थल र १५२ मतदान केन्द्र छन् ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।