भ्यालेन्टाइन्स डेमा भजन डेट : युवा जोडीहरूको अनौठो अनुभव

फाल्गुन २, २०८२ |किरण पौडेल
भ्यालेन्टाइन्स डेमा भजन डेट : युवा जोडीहरूको अनौठो अनुभव

काठमाडौं । आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे । 

विश्वभर आजको दिनलाई युगल जोडीहरूले प्रेम अभिव्यक्त गर्ने दिनको रूपमा मनाउने गर्छन् । तर यसपटक प्रेम दिवस महाशिवरात्रिको पूर्वसन्ध्यामा परेकाले केही युवाहरूले भने आजको दिन भजन साँझ आयोजना गरेर मनाएका छन् ।

सामान्यतः प्रेम दिवसको दिन एउटा युगल जोडी कहाँ जान्छ होला ? पक्कै पनि आम जवाफ हो- रेस्टुराँ, क्लब, पार्क वा कतै लङ ड्राइभ डेट । तर यसपालि प्रेम दिवसको दिन महाशिवरात्रिको पूर्वसन्ध्या परेकाले धेरै जोडी भजन डेटमा गएका छन् ।

भजन डेट अर्थात् यज्ञशाला फाउन्डेसनले प्रगति युवा क्लबको सहकार्यमा आयोजना गरेको एकम् भजन साँझ । यज्ञशाला फाउन्डेसनले प्रगति युवा क्लबको सहकार्यमा शनिबार ललितपुरको भैंसेपाटीस्थित खेल मैदानमा आयोजना गरेको भजन साँझमा १० भन्दा बढी कलाकारहरूले लाइभ सांगीतिक प्रस्तुति दिए । कार्यक्रममा सांगीतिकसँगै कथक नृत्य पनि प्रस्तुत गरिएको थियो ।

युवाहरूलाई संस्कृति र परम्परासँग जोड्न, भक्ति संगीतमार्फत मानसिक शान्ति र सामूहिक एकताको भावना अभिवृद्धि गर्न तथा नेपालमा आध्यात्मिक संगीत कार्यक्रमको नयाँ मानक स्थापित गर्न भन्दै भजन साँझ आयोजना गरिएको कार्यक्रम सञ्चालक बताउँछन् ।

कार्यक्रममा सहभागीहरूले नौलो र रमाइलो अनुभव भएको बताए । क्याफे र क्लबभन्दा पनि मौलिक भजनमा निकै रमाइलो र आनन्द अनुभूति भएको उनीहरू भनाइ छ । कार्यक्रममा संगीतकर्मी, नृत्य कलाकार, पुजारी तथा आध्यात्मिक पर्यटन क्षेत्रमा क्रयाशील व्यक्तित्वहरूको सहभागिता रहेको थियो । 

भजन साँझमा भारतको डि ग्रुप ,क्रिपा एण्ड कोरस , त्रिशला गुरुङ लगायतका कलाकार र ब्याण्डले आफ्नो प्रस्तुति दिएका थिए ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।