रामेछाप बस दुर्घटना : क्षतिपूर्ति विवाद उत्कर्षमा, पीडितले तोडे प्रहरी घेरा

माघ २८, २०८२ |नवराज श्रेष्ठ
रामेछाप बस दुर्घटना : क्षतिपूर्ति विवाद उत्कर्षमा, पीडितले तोडे प्रहरी घेरा

रामेछाप । बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछाप घेराउ गरी चर्को विरोध जनाएका छन्। 

प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष भेटेर आफ्ना पीडा र माग राख्नुपर्ने भन्दै केही पीडित तथा आफन्तले प्रहरीको घेरा तोडेर जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गरेपछि प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेका छन्। तर बुधबार अबेरसम्म बसेको सर्वपक्षीय बैठकमा पनि क्षतिपूर्तिको विषयमा सहमति नजुटेपछि पीडितको आक्रोश झन् बढेको छ।

जिल्ला प्रशासनमा सहमति हुन नसकेपछि मृतकका आफन्तले बुधबार बिहानदेखि मन्थली नगरपालिका-६ स्थित आकाशे, भैंसेश्वर क्षेत्र हुँदै मन्थली-खुर्कोट सडक अवरूद्ध गरेका छन्। दुर्घटनामा संलग्न सवारीसाधन धनी तथा यातायात समिति सम्पर्कमा नआएको भन्दै आफन्तले सडक बन्द गरेका हुन्।

काठमाडौंबाट मन्थली–खुर्कोट पुष्पलाल राजमार्ग हुँदै रामेछापको सिरिसे ढाँडे भएर ओखलढुङ्गातर्फ जाँदै गरेको बा प्र ००१–०५ ख ९९७५ नम्बरको (पूर्व अरनिको यातायात प्रालि) यात्रुवाहक बस मंगलबार बिहान मन्थली नगरपालिका-६ स्थित बेनीघाट पुलनजिक अनियन्त्रित भई सडकबाट खसेर तामाकोसी नदीमा डुबेको थियो।

उक्त दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने चालकसहित ८ जना घाइते भएका थिए। मृतकका परिवारले प्रति मृतक २५ लाख रूपैयाँ क्षतिपूर्ति, घाइतेको सम्पूर्ण उपचार र जीवनभर पालन-पोषणको व्यवस्था हुनुपर्ने माग राखेका छन्। तर यातायात व्यवस्था ऐनअनुसार बीमाबाट पाँच लाख, किरिया खर्चबापत ५० हजार रूपैयाँ प्राप्त हुने र पूर्व अरनिको यातायात प्रालिले थप प्रति मृतक ३०-३० हजार रूपैयाँ दिने प्रस्ताव गरे पनि पीडित पक्षले अस्वीकार गरेपछि बैठक निष्कर्षविहीन भएको हो। 

बैठकमा सहभागी नेकपा (एमाले) रामेछापका अध्यक्ष पुर"षोत्तम कडरियाले क्षतिपूर्तिको विषयमा सहमति हुन नसकेको जानकारी दिनुभयो । सहमति नजुटेपछि अहिले मृतक तथा घाइतेका परिवार र आफन्त जिल्ला प्रशासन कार्यालयमै भेला भई न्यायको माग गरिरहेका छन्। 

दुई सन्तानको शव फेला परेको र दुई नातिहरू अझै बेपत्ता रहेको पीडा सुनाउँदै लिखुतामाकोशी गाउँपालिका-७ का शुकमान तामाङले यातायात प्रालि र बस चालकलाई तत्काल सम्पर्कमा ल्याई कानुनी कारबाही गर्नुपर्ने बताए । उनले भने, “चार जना परिवारका सदस्य दुर्घटनामा परेका छन्। दुई जनाको शव भेटिएको छ, दुई नातिहरू अझै हराइरहेका छन्। हाम्रो माग पूरा नभएसम्म सडक खुल्दैन।”

यसैबीच दुर्घटनापछि तीन जना बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा आफन्तहरूले निवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयकाअनुसार बेपत्ता व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ । तर बुधबार साँझसम्म खोजी गर्दा पनि बेपत्ता भनिएकाहरू फेला पर्न सकेन । 

प्रहरीमा प्राप्त निवेदनअनुसार बेपत्ता हुनेमा उमाकुण्ड गाउँपालिका-६, गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार रहेका छन्। उनका दाइ युवराज सुवालले खोजतलासका लागि प्रहरी कार्यालय रामेछापमा निवेदन दिएका हुन्। यस्तै, लिखु तामाकोशी गाउँपालिका-७, तिल्पुङकी ८ वर्षीया रेमिसा तामाङ पनि बेपत्ता रहेकी छन्। 

उनी मृतक रमिता तामाङकी छोरी रहेको बताइएको छ । रेमिसाको खोजीका लागि उनका आफन्तले प्रहरीमा निवेदन दर्ता गराएका प्रहरीले जनाएको छ । त्यसै गरी मन्थली नगरपालिका-२ का ९ वर्षीय क्रिचन तामाङ पनि सम्पर्कविहीन रहेको भन्दै उनका आफन्तले समेत खोजीका लागि निवेदन दिएका छन्।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।