निर्वाचनका लागि तीन अन्तर्राष्ट्रिय संस्था र १२ देशका प्रतिनिधिलाई पर्यवेक्षणकाे अनुमति

६९ विदेशी पर्यवेक्षक नेपाल आउँदै
माघ २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनका लागि तीन अन्तर्राष्ट्रिय संस्था र १२ देशका प्रतिनिधिलाई पर्यवेक्षणकाे अनुमति

काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचन पर्यवेक्षणका लागि तीन अन्तर्राष्ट्रिय संस्था र १२ मुलुकका प्रतिनिधिले अनुमति लिएका छन् ।

जेन-जी आन्दोलनले ल्याएको परिवर्तनपछि हुन लागेको निर्वाचन भएकाले पनि अन्तर्राष्ट्रिय समुदाय र संस्थाहरूले पर्यवेक्षणका लागि चासो देखाएका हुन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष गोपालकृष्ण सिवाकोटीले जेन-जी विद्रोहपछि सत्ताबाट बहिर्गमित दल र नयाँ दलबीच हुन लागेकाले पनि अन्तर्राष्ट्रिय समुदायको चासो नेपालको निर्वाचनमा रहेको बताउनुभयो । 

विदेशी पर्यवेक्षणले विश्वस्तरमा निर्वाचनको विश्वसनीयतालाई थप बल पुर्याउने उहाँको भनाइ छ । पर्यवेक्षणका लागि अमेरिकाका दुई संस्था इन्टरनेसलन रिपब्लिकन इन्स्टिच्युट र मल्टी डिसिप्लिनरी इन्स्टिच्युट फर ट्रेनिङ एन्ड लर्निङ तथा अर्को एसियन नेटवर्क फर फ्री इलेक्सनका ३९ जनाले अनुमति लिएका छन्। 

यस्तै जापान, दक्षिण कोरिया, रूस, इन्डोनेसिया, अस्ट्रेलिया र मलेसियाका दुई-दुईजना गरी १२ जनाले अनुमति लिएका छन् भने भारतबाहेक ६ सार्क राष्ट्रका १८ जनाले निर्वाचन पर्यवेक्षण गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ६९ जना विदेशी र नेपालका २७ संस्थाका प्रतिनिधि चुनावी पर्यवेक्षणमा सहभागी हुनेछन् । आयोगले विदेशी पर्यवेक्षकहरू निर्वाचनको एक साताअघि नेपाल आइसक्ने पनि जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.