प्रतिनिधि सभा निर्वाचन सुरक्षा : सातै प्रदेशमा एआईजी परिचालन

मधेश सबैभन्दा संवेदनशील
माघ २८, २०८२ |किरण पौडेल
प्रतिनिधि सभा निर्वाचन सुरक्षा : सातै प्रदेशमा एआईजी परिचालन

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा रणनीतिलाई अन्तिम रूप दिन प्रहरीले सातै प्रदेशमा उच्च तहको जनशक्ति परिचालन गरेको छ । 

यही टोलीले बुझाएको प्रतिवेदनका आधारमा आगामी चुनावी रणनीति परिमार्जन गर्ने प्रहरीको तयारी छ । प्रहरी प्रधान कार्यालयले सातै प्रदेशको निर्वाचन सुरक्षा अवस्था अनुगमन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई फिल्डमा उतारेको छ । चुनावी सुरक्षा रणनीतिलाई अन्तिम रूप दिनुअघिको यो उच्चस्तरीय तयारी हो ।

प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत एआईजी हिमालयकुमार श्रेष्ठ सुदूरपश्चिम प्रदेशको सुरक्षा चुनौती अध्ययन गरेर फर्कनुभएको छ भने मधेस प्रदेशका सबै जिल्ला भ्रमण गरेर एआईजी डम्बर विक काठमाडौँ फर्किसक्नुभएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा सीआईबीका एआईजी मनोज केसी, बागमती प्रदेशमा एआईजी सिद्धिविक्रम शाह, कर्णाली प्रदेशमा एआईजी सुशीलसिंह राठौर, कोसी प्रदेशमा एआईजी राजन अधिकारी र लुम्बिनी प्रदेशमा एआईजी उमाप्रसाद चतुर्वेदीलाई जिम्मेवारी तोकिएको छ ।

एआईजीहरूले प्रदेशस्तरमा सुरक्षा तयारी, उपलब्ध जनशक्ति, स्रोतसाधन र संवेदनशील क्षेत्रहरूको पहिचान गर्ने र जिल्ला सुरक्षा समितिसँग प्रत्यक्ष छलफल गरेर स्थानीय रणनीति बुझ्ने बताइएको छ । आवश्यक्ताअनुसार निर्वाचन सुरक्षाका लागि प्रहरी उपरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई पनि संवेदनशील देखिएका जिल्लामा परिचालन गर्नेगरी रणनीति बनाइएको प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।

एआईजीहरूले सातै प्रदेशको अनुगमनपछि बुझाउने प्रतिवेदनका आधारमा केन्द्रीय सुरक्षा रणनीति परिमार्जन गरिने मधेस प्रदेशको अनुगमन गरेर फर्कनुभएका एआईजी डम्बर विक बताउनुहुन्छ । यसपटकको निर्वाचनमा मधेश प्रदेशमा सबैभन्दा बढी संवेदनशील निर्वाचन क्षेत्र छन् । 

त्यसमाथि निर्वाचन हुनुभन्दा दुई दिनअघि पर्ने होली पर्व तथा सम्भावित प्रधानमन्त्रीका उम्मेदवार रहेका क्षेत्र भएकाले थप मधेसमा विशेष सतर्कता अपनाउनुपर्ने पूर्वगृहसचिव उमेश मैनालीको सुझाव छ । सातै प्रदेशको अनुगमन गर्न खटेको एआईजीहरूको टोलीले फागुनको पहिलो साता प्रतिवेदन बुझाउनेछन् ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।