
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे र बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापासहित १३ जनाविरूद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
राष्ट्रिय वन क्षेत्रमा अवैध उत्खनन गरी ५८ करोड रूपैयाँभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । कानुनी प्रक्रिया पूरा नगरी बहुउद्देश्यीय माछा पोखरी निर्माणका नाममा ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ उत्खनन गरी सात करोड ३८ लाख क्यू फिटभन्दा बढी वन पैदावार निकालिएको आरोप लाग्दै आएको छ।
सो उत्खननबाट उठ्नुपर्ने ५८ करोड ६२ लाख बराबरको रोयल्टी नउठाइ राजस्व हिनामिना गरिएको आरोप अख्तियारको छ। अनुसन्धानबाट सागरनाथ वन विकास परियोजना तथा मातहतका अधिकारी र बागमती नगरपालिकाका पदाधिकारीबीच मिलेमतो भएको देखिएको आयोगले जनाएको छ।
आयोगले घिमिरेसँगै सागरनाथ वन विकास परियोजनाका तत्कालीन निमित्त परियोजना प्रमुखहरू देवेशमणि त्रिपाठी, राम किशोर यादव, प्रेमीलाल प्रसाद कलवार, तत्कालीन सहायक वन अधिकृत चन्द्रकुमारी श्रेष्ठ, तत्कालीन सहायक वन अधिकृत शिवेन्द्र प्रसाद चौधरी, कार्यालय प्रमुख जितेन्द्र कर्माचार्य र सहायक वन अधिकृत भोला यादवविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै नगर प्रमुख थापा, उपप्रमुख लिला मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल पोखरेल लगायतलाई समेत प्रतिवादी बनाइएको छ। वन पैदावारको रोयल्टीवापतको बिगो ५८ करोड ६२ लाख बराबरको राजस्व चुहावट गरेकोले राजश्व रकम बराबरको दोब्बर जरिवानाको माग दाबी पनि गरिएको छ । नगरप्रमुख थापा यसअघि नै भ्रष्टाचार मुद्दामा निलम्बित हुनुहुन्छ ।