बिहिबारदेखि मतपत्र जिल्लामा पठाउने निर्वाचन आयोग तयारी

माघ २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
बिहिबारदेखि मतपत्र जिल्लामा पठाउने निर्वाचन आयोग तयारी

काठमाडौं । निर्वाचन आयोगले बिहिबारदेखि मतपत्र जिल्लामा पठाउने तयारी गरेको छ । 

पहिलो चरणमा सुदूरपश्चिमका पहाडी जिल्लामा पठाइँदैछ । फागुन १२ गतेभित्र सबै जिल्लामा मतपत्र पुर्याइसक्ने लक्ष्य आयोगको छ । निर्वाचनका लागि चाहिने दुई करोड तीन लाख मतपत्र शनिबारसम्म छापेर सक्ने योजना जनक शिक्षा सामग्री केन्द्रको छ । 

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि डेढ करोडभन्दा बढी मतपत्र छापिएको र अहिले दैनिक १५ लाख मतपत्र छपाइ भैरहेको पनि केन्द्रले जनाएको छ। केन्द्रले छापेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले जिल्लाहरूमा पुर्‍याइसकेको छ । समानुपातिकतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र पनि छापेर तयारी अवस्थामा राखिएको छ ।

यसैबीच निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले हालसम्म ५१ जनालाई स्पष्टीकरण सोधेको छ । आचारसंहिताविपरित काम गरेको उजुरी परेपछि आयोगले विभिन्न दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधेकामध्ये २१ जनाले अझै जवाफ नबुझाएको आयोगले जनाएको छ । 

हालसम्म ३० जनाले मात्र बुझाएको र बाँकी जवाफ आउन बाँकी रहेको आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.