
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुँजीगत खर्च हुन नसक्नुका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पनि जिम्मेवार रहेको टिप्पणी गर्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसर पारेर बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो जिकिर गर्नुभएको हो । मुख्यमन्त्री यादवले विकास निर्माणको काममा अख्यिारमा उजुरीहरू पर्ने र त्यो आयोजनाको काम नै अघि नबढ्ने अवस्था आउने भएकाले मुलुकमा ५० प्रतिशत पनि पुँजीगत खर्च हुन नसक्ने अवस्था आएको उल्लेख गर्दै त्यसमा सहज वातावरण बनाउने काममा लाग्नुपर्ने बताउनु भयो ।
उहाँले अख्तियारमा उजुरी परेपछि कर्मचारीहरू निलम्बनमा पर्ने डरले कामै गर्न नसक्ने अवस्था आउँदा पनि विकास, निर्माणको कामले गति लिन नसकेको समेत स्पष्ट पार्नु भयो । मुख्यमन्त्री यादवले ठेक्का लिने क्रममा पहुँच नपुग्नेहरूले पनि विकास निर्माणको काममा अवरोध पुर्याउने गरी अख्तियार उजुरी दिने गरेको र त्यसैलाई आधार बनाएर सो काम रोकिने अवस्था आउन नदिने कुरामा पनि उचित ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।
मुख्यमन्त्री यादवले कर्मचारीको मनोबल गिराउने कामले गर्दा नै मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुने अवस्था नभएको दाबी समेत गर्नुभयो ।