
काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा मुलुकको शान्ति-सुरक्षा अवस्थाबारे गम्भीर प्रश्न उठ्न थालेको बताउनुभएको छ ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै उहाँले वीरगञ्जमा प्रहरीमाथि भएको आक्रमणले निर्वाचनका लागि सुरक्षा चुनौती बढाएको बताउनुभएको हो । नेपाली कांग्रेसको राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहुनुभएका रोकायले प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ कि हुँदैन भन्नेबारे आम नागरिकमा चासो र चिन्ता बढिरहेको बताउनु भयो ।
उहाँकाअनुसार निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न सुरक्षा चुनौतीका घटनाहरू सार्वजनिक भइरहेका छन् । माघ २७ गते पर्साको वीरगञ्जस्थित आर्दशनगरमा अवैधरूपमा तस्करी गरी ल्याइएको सामान बरामद गर्न पुगेको सशस्त्र प्रहरी टोलीमाथि आक्रमण भएको घटना गम्भीर भएको उहाँको भनाइ छ ।
प्रहरीमाथि भएको आक्रमण कानुनी शासनमाथिको गम्भीर चुनौतीका रूपमा देखा परेको उहाँले बताउनु भयो । कानुन कार्यान्वयन गर्ने निकाय नै असुरक्षित हुने अवस्था आए सर्वसाधारण नागरिकको सुरक्षा झन् कमजोर हुने खतरा बढ्ने उहाँको भनाइ छ।
माघ २६ गते सिराहा कारागारमा गरिएको सुरक्षा अनुगमन तथा खोजतलासका क्रममा कारागारभित्रै हतियार, एक लाख रूपैयाँ नगद तथा प्रतिबन्धित सामग्री फेला परेको उहाँले बताउनु भयो । कारागारजस्तो उच्च सुरक्षा संवेदनशील स्थानमै हतियार र नगद फेला पर्नुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको उहाँको भनाइ छ ।
रोकायले सुरक्षा निकायको मनोबल उच्च राख्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।