
रौतहट । काठबाट बनेका फर्निचरको व्यवसाय बढाउन र स्थानीयस्तरमा रोजगार सिर्जना गर्ने उद्देश्यले रौतहटको गरूडा नगरपालिकास्थित जयनगरमा हरेक वर्ष फर्निचर मेला आयोजना हुँदै आएको छ ।
२०६४ सालदेखि निरन्तर लाग्दै आएको यो मेलामा लोहार समुदायले बनाएका काठका फर्निचर र फलामका कृषि उपकरण सुपथ दरमा पाइने हुँदा बर्षेनि यो मेलाको चर्चा र यहाँबाट हुने कारोबार बढ्दै गएको छ। मेला एक महिनासम्म सञ्चालन हुनेछ ।
रौतहटको गरूडा नगरपालिका एक जयनगर फर्निचर मेलामा स्थानीय काठपात तथा अन्य सामग्री प्रयोग गरी बनाइएका खाट, डाइनिङ टेबल, कुर्सी, चौकस, ढोका आदि प्रदर्शनीमा राखिएका छन् । तीन महिना अगाडिदेखि व्यवसायीहरू मेलमा बिक्रिका लागि विभिन्न किसिमका आकर्षक डिजाइनका फर्निचर तथा औजारहरू बनाउन जुट्ने गर्छन् ।
हरेक वर्ष लाग्ने मेलामा उपभोक्ताहरूले एकै ठाउँमा रोजेर आवश्यक फर्निचर किन्न पाएका छन् भने लोहार समुदायका युवाहरूको पनि पुर्खौली पेसाप्रति आकर्षण बढ्दै गएको छ । फर्निचर सामग्रीको व्यवसाय बढाएर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न मेला सुरू भएसँगै स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण पनि बढ्दै गएको छ ।
वसन्तपञ्चमीको अवसरमा आयोजना हुने मेलाले लोहार समुदायको आय-आर्जन गर्ने राम्रो माध्यम समेत बनेको छ । एक महिनासम्म चल्ने यस मेलामा स्थानीय तीन सय भन्दा बढी काठ मिस्त्रीहरूले तयार पारेका विभिन्न थरिका फर्निचर बिक्रीका लागि प्रदर्शनीमा राखिएका छन् । मेलामा कृषि कार्यमा प्रयोग हुने फलामको विभिन्न सामग्री पनि प्रदर्शनीमा राखिएका छन्।