इरानमा जारी दमनबीच शिरिन एवादी भन्नुहुन्छ- ‘जनताको विजय एकदिन अवश्य हुनेछ’

माघ २६, २०८२ |किरण पौडेल
इरानमा जारी दमनबीच शिरिन एवादी भन्नुहुन्छ- ‘जनताको विजय एकदिन अवश्य हुनेछ’

काठमाडौं । इरानले नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीलाई थप ७ वर्षको जेल सजाय सुनाएको भोलिपल्ट आजमात्रै प्रदर्शनमा समर्थन गरेको भन्दै चार राजनीतिज्ञलाई पक्राउ गरेको खबर सार्वजनिक भएको छ । 

इरानमा अधिकारका पक्षमा भइरहेको प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै आउनुभएकी अर्की नोबेल विजेता शिरिन एवादीले साेमबार कान्तिपुर कन्क्लेभभा दृढता व्यक्त गनुभयो-’जनताको विजय एकदिन अवश्य हुनेछ ।’ इरानमा भइरहेका विभेदविरूद्ध प्रवासमा रहेर अभियान चलाइरहनुभएकी एवादीले कन्क्लेभमा नेपालको जेन-जी आन्दोलन र फागुन २१ को निर्वाचनमा युवा सहभागिताबारे पनि चासो राख्नुभयो ।

सन् २०२२-२३ मा हिजाबविरूद्धको होस् या गत महिना मूल्यवृद्धिविरुद्ध सुरु भएर सर्वोच्च नेता अलि खमेनीविरुद्धको आन्दोलन । इरानमा लोकतन्त्र र अधिकारका पक्षमा पटक-पटक आन्दोलन भइरह्यो । पछिल्लो आन्दोलनमा त राज्यले चरम दमन गर्‍यो । कति प्रदर्शनकारीको ज्यान गयो, कुनै हिसाब भएन । 

 सन् २००३ की नोबेल शान्ति पुरस्कार विजेता शिरिन एवादीलाई लाग्छ, तै पनि इरानी जनताको हार मान्नेवाला छैनन् र युवाको साहस राज्यको दमनभन्दा शक्तिशाली हुन्छ । कान्तिपुर कन्क्लेभ २०२६ की मुख्य वक्ता शिरिनले दृढता र विश्वासको आवाजसहित भन्नुभयो-जनताको विजयको शुभ समाचार एक दिन ल्याउनेछु ।

शिरिन एवादीले यसो भनिरहँदा सोमबार नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार आयो-गत महिना भएको प्रदर्शनमा समर्थन गरेको भन्दै इरान सरकारले चार राजनीतिज्ञलाई पक्राउ गरेको छ । आइतबार पनि इरानले जेल सजाय भोगिरहनुभएकी अर्की नोबेल विजेता नर्गिस मोहम्मदीलाई थप ७ वर्षको जेल सजाय सुनाएको छ । 

इरानी जनताले सन् १९७९ यता राजतन्त्र भएयता सत्ताविरुद्ध बारम्बार सडक प्रदर्शन गर्दै आएका छन् । तर, हरेक पटक शासनले दमन, चरम हिंसा र मृत्युदण्डबाट जवाफ दिइरहेको छ। कान्तिपुर कन्क्लेभमा मन्तव्य दिने क्रममा उहाँले नेपालको जेन-जी आन्दोलनप्रति पनि चासो राख्नुभयो र सुझाव दिनुभयो-नारा लगाएरमात्र हुँदैन, युवाले प्रणालीभित्रै प्रवेश गर्नुपर्छ र समाधान निकाल्नुपर्छ ।

शिरिन आफैं देशकै पहिलो मुख्य महिला न्यायाधीश हुनुहुन्थ्यो, जतिबेला राजतन्त्र थियो । सन् १९७९ को इस्लामिक क्रान्तिपछि सरकारले महिला न्यायाधीश हुन नहुने कानुन ल्याएपछि उहाँले राजीनामा दिनुभयो । त्यसपछि पनि उहाँले अधिकारका पक्षमा काम गरिरहनुभयो । तर सरकारले अधिकारवादीविरूद्ध दमन बढाउँदै लगेपछि उहाँ सन् २००९ मा निर्वासनमा जानुभयो । त्यसयता लोकतन्त्र र अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।