‘कान्तिपुर कन्क्लेभ २०२६’ भोलिदेखि काठमाडौंमा

माघ २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘कान्तिपुर कन्क्लेभ २०२६’ भोलिदेखि काठमाडौंमा

काठमाडौं । देशको राजनीतिक, सामाजिक र आर्थिक बहसलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित ‘कान्तिपुर कन्क्लेभ २०२६’ सोमबारदेखि काठमाडौंमा हुँदै छ । दुईदिने कन्क्लेभमा राजनीतिक अस्थिरता, संस्थागत कमजोरी र बढ्दो नागरिक असन्तोषबीच स्पष्ट रोडम्यापको खोजीमा रहेको समाजलाई संवादको थलो उपलब्ध गराउने लक्ष्य रहेको कान्तिपुर मिडिया ग्रुपले जनाएको छ ।

राजनीतिक नेतृत्व, बौद्धिक वर्ग, नीति निर्माता, युवा पुस्ता र नागरिक समाजलाई एउटै मञ्चमा ल्याएर देशका मूल समस्यामाथि बहस गर्ने र साझा उत्तर खोज्ने प्रयासका रूपमा कन्क्लेभ आयोजना गरिएको कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश स्वाँरले बताउनुभयो ।

कन्क्लेभमा नेपालसहित विश्वका प्रतिष्ठित चिन्तक, राजनीतिक नेतृत्व, उद्यमी, पत्रकार, नीति विश्लेषक र युवा अभियन्ता सहभागी हुनेछन् । विभिन्न देशबाट ५२ वक्ता कन्क्लेभमा सहभागी हुन आउँदै छन् । उद्घाटन सत्रपछि नोबेल शान्ति पुरस्कार विजेता, प्रख्यात कानुनविद् तथा लेखक डा. शिरिन एबादीले मुख्य वक्तव्य राख्नुहुनेछ । मानवअधिकार, लोकतन्त्र र नागरिक स्वतन्त्रताका विषयमा विश्वव्यापी अनुभव बोकेकी एबादीको मन्तव्य कन्क्लेभको मुख्य आकर्षणका रूपमा हेरिएको छ । पहिलो सत्र ‘आन्दोलनबाट अवसरतर्फ’ मा ट्युनिसिया, श्रीलंका र बंगलादेशका वक्ताहरूले जनआन्दोलनपछिको संक्रमणकालीन राजनीतिबारे अनुभव साट्नेछन् । यस सत्रमा ट्युनिसियन गायिका तथा ‘अरब स्प्रिङ’ की प्रतीक एमेल माथलुथी, श्रीलंकाकी पत्रकार कामन्थी विक्रमसिंघे, बंगलादेशकी मार्जाना महनाज र नेपालकी जेन–जी अभियन्ता तनुजा पाण्डे सहभागी हुनेछन् । यस सत्र ‘द काठमान्डु पोस्ट’ का सम्पादक विश्वास बरालले सहजीकरण गर्नेछन् ।

‘जेन–जी विद्रोह ः जुत्ताको कथा’ शीर्षक सत्रमा प्रकाश बोहराले नयाँ बानेश्वरमा आफ्नो रक्तरञ्जित जुत्तासँग जोडिएको व्यक्तिगत र राजनीतिक कथा प्रस्तुत गर्नुहुनेछ । उक्त जुत्तालाई जेन–जी आन्दोलनको प्रतीक मानिँदै आएको छ । त्यसपछि राजनीतिक विश्लेषक सीके लालले ‘नेपाली क्रान्तिको यात्रा’ शीर्षकमा प्रस्तुति दिनुहुनेछ ।

अर्को सत्रमा हास्यव्यंग्य कलाकारहरूबीच ‘आफैंमाथि व्यंग्य लेख्दै नेपाली राजनीति’ शीर्षक प्यानल हुनेछ । आदर्श मिश्र, सीता न्यौपाने, सुन्दर खनाल र प्रभात लामाको सहभागितामा राजनीति र व्यंग्यबीचको सम्बन्धमाथि चर्चा हुनेछ, जसको सहजीकरण मनोज गजुरेलले गर्नुहुनेछ । ‘विचारधाराको अन्त्य भएको हो ?’ शीर्षकको सत्रमा राजनीतिक विश्लेषक हरि शर्मा र राजनीतिज्ञ घनश्याम भुसालबीच देशको राजनीतिक संरचना, नेतृत्व र सुधारका सम्भावनामाथि संवाद हुनेछ ।

पहिलो दिनको अन्तिम सत्र ‘अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनःस्थापना’ मा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, एफएनसीसीआई अध्यक्ष चन्द्र ढकाल, सीजी कर्प ग्लोबलका एमडी निर्वाण चौधरी, एनसेलका सीईओ माइकल फोली र दराज नेपालकी एमडी आँचल कुँवर सहभागी हुनेछन् । अस्थिर नीतिका कारण थलिएको अर्थतन्त्र, निजी क्षेत्रको मनोविज्ञान र लगानीको वातावरणबारे यस सत्रमा छलफल हुनेछ, जसको सहजीकरण अर्थशास्त्री निशान्त खनालले गर्नुहुनेछ ।

दोस्रो दिनको पहिलो सत्र ‘संवादको चौतारी, अल्गोरिदमको उल्झन’ मा डिजिटल प्लाटफर्म र सार्वजनिक बहसबीचको सम्बन्धमाथि छलफल हुनेछ । एआई वैज्ञानिक दोभान राई, बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधान, पठाओ नेपालका एमडी असीममान सिंह बस्न्यात र नेतृ निशा अधिकारी प्यानलिस्ट रहनेछन् । सामाजिक सञ्जाल, एआई र एल्गोरिदमले जनमत निर्माणमा पार्ने प्रभाव, मिसइन्फर्मेसन र डिजिटल राजनीति यस सत्रका मुख्य विषय हुनेछन् । यस सत्रको सहजीकरण द नेपाली कमेन्टका संस्थापक दीपेश त्रिपाठीले गर्नुहुनेछ ।

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं, राजनीतिकर्मी ऋषि धमला, खुश्बु ओली र सञ्चारकर्मी सन्तोष देउजा ‘जनताको प्यानल’ मा सहभागी हुनेछन् । परम्परागत नेतृत्वभन्दा बाहिरका आवाज सार्वजनिक बहसको केन्द्रमा कसरी आए भन्ने विषयमा यो सत्र केन्द्रित रहनेछ । यस सत्रलाई कान्तिपुर टेलिभिजनकी पत्रकार समा थापाले सहजीकरण गर्नुहुनेछ ।

‘शक्तिको रस्साकसीमा नेपाल’ शीर्षक सत्रमा चीन, भारत र अमेरिकाका विज्ञहरूले नेपालको भू–राजनीतिक अवस्थामाथि बहस गर्नेछन् । चीनको सिचुआन विश्वविद्यालयको नेपाल सेन्टरका उपनिर्देशक गाओ लियाङ, भारतको एमपी–आईडीएसएका शोधकर्ता स्नेहा कुम्चा, अमेरिकी थिंकट्यांक प्यासिफिक फोरमका क्षेत्रीय मामिला निर्देशक रोबर्ट योर्क र सिनासका कार्यकारी निर्देशक मृगेन्द्र कार्की प्यानलिस्ट रहनेछन् । छिमेकी र विश्व शक्तिबीच सन्तुलन कसरी कायम गर्ने भन्ने प्रश्न यस सत्रको केन्द्रमा हुनेछ । सत्रलाई रेस्ट अफ वर्ल्डका प्रधान सम्पादक अनुप काफ्लेले सहजीकरण गर्नुहुनेछ ।

यस्तै, ‘गणतन्त्रका नयाँ आवाज’ सत्रमा जेन–जी अभियन्ताहरू रक्षा बम, माजिद अन्सारी, प्रदीप ज्ञवाली र युवा उम्मेदवार अजय कुशवाहा सहभागी हुनेछन्, जसको सहजीकरण कान्तिपुर दैनिकका पत्रकार दया दुदराजले गर्नुहुनेछ । युवा पुस्ताको नेतृत्व, वैधता र राष्ट्र निर्माणमा उनीहरूको भूमिकामाथि बहस हुनेछ । त्यसपछि सातै प्रदेशका मुख्यमन्त्रीहरू एउटै मञ्चमा उभिएर ‘संघीयता : संरचना मात्र कि संवाहक पनि ?’ शीर्षकमा बहस गर्नेछन् । यस सत्रको सहजकर्ताका रूपमा कान्तिपुर टेलिभिजनका समाचार प्रमुख रूपेश श्रेष्ठ रहनु हुनेछ  । संघीयताको उपलब्धि, चुनौती र भविष्यबारे प्रत्यक्ष राजनीतिक नेतृत्वबीच संवाद हुनेछ ।

अन्तिम सत्र ‘नीति, नेता र नेतृत्व’ शीर्षकको सत्रमा कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले कांग्रेस, एमाले र स्वतन्त्र धारका युवा नेतासँग नेतृत्व हस्तान्तरण र राजनीतिक संस्कृतिबारे बहस चलाउनु हुनेछ । यो सत्रमा कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमाले उपमहासचिव योगेश भट्टराई र पूर्वमन्त्रीसमेत रहेकी सुमना श्रेष्ठ प्यानलिस्ट रहनेछन् । कन्क्लेभ एसियन पेन्टस्, एस्क्ट्रिम इनर्जी डि्रंक्स् र एनसेलको सहकार्यमा हुन लागेको हो ।

कार्यक्रमका प्रमुख वक्ता डा. शिरिन एबादीलगायत विभिन्न मुलुकका वक्ताहरू शनिबार काठमाडौं आइपुगिसकेका छन् । कान्तिपुर मिडिया ग्रुपका अनुसार ‘कान्तिपुर कन्क्लेभ २०२६’ कुनै एउटा संस्थाको कार्यक्रम मात्र नभई देशको भविष्यबारे सामूहिक चिन्तन गर्ने राष्ट्रिय पहल हो । राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा देखिएको अनिश्चितता र अविश्वासलाई संवादमार्फत स्पष्टतामा बदल्ने प्रयास नै यसको मूल मर्म रहेको आयोजकको दाबी छ । कन्क्लेभमार्फत आन्दोलन, लोकतन्त्र, प्रविधि, अर्थतन्त्र र भू–राजनीतिको संगममा नेपालले भोगिरहेको संकट र सम्भावनामाथि गम्भीर बहस हुने अपेक्षा गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.