
उदयपुर । चुनावी अभियानमा देश दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उदयपुर पुगेका छन् । उदयपुरको दुवै निर्वाचन क्षेत्रका चुनाव प्रचारप्रसार तथा सम्पर्क कार्यालयहरूमा घन्टी बजाउँदै कार्यकर्ता र समर्थकहरुलाई शाहले भेटेका हुन्
उदयपुरको बेलकाको रामपुर, चौदण्डीगढीको बसाहा, बेल्टार, त्रियुगाको गाईघाट र कटारीको कटारीबजारमा बालेनलाई हेर्न समर्थकहरूको ठूलो भीड देखियो । हिजो नै उदयपुर आउने भनिए भने अस्वस्थताको कारण देखाउँदै उदयपुरको बेलका नगरपालिकास्थित सप्तकोशी पुलको कोसी प्यालेसमा बास बसेका थिए । हिजो उनले सप्तकोशीमा बोटिङ गर्दै धार्मिक स्थल बराहा क्षेत्र र किराँत आस्थाको केन्द्र ख्वालुङको भ्रमण गरेका थिए ।
उदयपुरपछि उनी खोटाङको हलेसी दर्शन गरेर सोलुखुम्बुतर्फ जाने कार्यक्रम रहेको रास्वपा पार्टी स्रोतले जनाएको छ ।