सटही काउन्टर बन्द हुँदा सीमावर्ती सर्वसाधारण मर्कामा, भारू अभावले जनजीवन प्रभावित

माघ १६, २०८२ |विकास आर्या
सटही काउन्टर बन्द हुँदा सीमावर्ती सर्वसाधारण मर्कामा, भारू अभावले जनजीवन प्रभावित

महाेत्तरी । नेपाल-भारत सीमामा रहेका सटही काउन्टर बन्द गरेपछि मधेशका सर्वसाधारण मर्कामा परेका छन् ।

भारत भित्रि सहरहरूमा नेपाली रूपैयाँ नचल्ने, सीमा नाकामा रहेका सटही काउन्टर हटाएको र नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसारको भारू उपलब्ध नगराएपछि सर्वसाधारण निकै समस्यामा परेका हुन् । 

सर्वसाधारणले भारू नपाएपछि औषधि उपचार, तीर्थ यात्रा र दैनिक उपभोग्य सामग्री किनमेललगायतका कामकाज प्रभावित भएको छ । सीमावर्ती भारतीय बजारका व्यवसायीहरूले नेपाली १ सय ६० रूपैयाँ सटही गर्दा १ सय भारू दिनुपर्नेमा ९० रूपैयाँ मात्रै दिने गरेका छन् । 

जलेश्वर भिठ्ठामोड नाकामा ५६ जनाभन्दा बढी बिचौलियाहरूले अवैधरूपमा भारू–नेपालीको करोबार गरी ठगी गर्दा पनि सरोकारवाला मुकदर्शक बनेको छ । भारू साट्न बिहानैदेखि हरेक दिन पाँच सयभन्दा बढी मानिस लाइन बसे पनि जनकपुरस्थित राष्ट्र बैंकको कार्यालयले दुई सय जनालाई मात्र जनही २५ सय भारू उपलब्ध गराउँदै आएको छ । 

केन्द्रीय कार्यालयको निर्देशनअनुसार नागरिकता र सिफारिसको आधारमा प्रति व्यक्ति २५ सय भारू मात्र दिने गरको जनकपुर कार्यालयले जनाएको छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।