प्यूठान । फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा मतदातालाई पनि चुनावी सरगर्मीले छुन थालेको छ ।
चोक चौतारा तथा चिया पसलमा हुने निर्वाचनसम्बन्धी छलफलले मतदातामा पनि निर्वाचनको माहोल बनाएको छ । तर प्यूठानको मल्लरानी गाउँपालिका गुडकसेरीका मतदाता भने वर्षौदेखिको गुठीसम्बन्धी समस्या सुनिदिने उम्मेदवार नपाएकोमा निराश छन् ।
प्यूठानको मल्लरानी गाउापालिका-४ गुठकसेरीमा अहिले निर्वाचनको खासै चहलपहल छैन । केही स्थानीयलाई निर्वाचन छोए पनि धेरैजसो मतदाता निर्वाचनलाई लिएर निराश छन् । गुठकसेरीका मतदाता आफूहरूले भोट हालेर जिताएको प्रतिनिधिले संसद्मा गुठीसम्बन्धी समस्याको आवाज उठाइदिइयोस् भन्ने चाहेका छन् । तर हरेक पटक भोट दिएर जिताएर पठाएका प्रतिनिधि काठमाडौं छिरेपछि वाचा भुल्ने गरेकोमा निराश छन् ।
पुस्ताैंंदेखि गुठीको जग्गा भोगचलन गर्दै आए पनि आफूहरूले भोग्दै आएको गुठीसम्बन्धी समस्यामा कुनै प्रतिनिधिको नजर पुग्न नसकेको उनीहरूको गुनासो छ । गुठकसेरीसँगै प्यूठान सदरमुकाम खलंगाका दर्जनौ परिवारले पुस्तौंदेखि शिवगणेश गुठीको जग्गा भोगचलन गर्दै आएका छन् ।
तर पुस्तौं बितिसक्दासमेत गुठीको जग्गाको विषयको अन्याेल समाधान कतैबाट भएको छैन । पुस्तौनी उपभोग गर्दै आएको जग्गालाई धितो राखेर ऋण निकाल्नेसम्मको व्यवस्था नहुँदा स्थानीय मारमा परेका छन् । गुठीसम्बन्धी समस्याको आवाज उठाइदिन भन्दै पटकपटक भोट दिएर जिताएर पठाए पनि संसद्मा आफुहरूको मागले कुनै स्थान नपाएकोमा मतदाताहरू निराश छन् ।
गुठीसम्बन्धी समस्याको समाधानमा पहल गरिदिने र आफूहरूको पुस्तौनी समस्या समाधान गर्न पहल गर्ने प्रतिनिधिलाई यसपटक भोट दिने गुठकसेरी बासीको अठोट छ ।