काठमाडौं । निर्वाचनमा आफैंलाई मत दिन भनेर दलका उम्मेदवाहरू पार्टीको झन्डा र चुनावचिन्ह बोकेर तपाईँ मतदाताको घरघरमा आइरहेका होलान्।
के उनीहरूले तपाईँलाई आफ्नो र आफ्नो दलको घोषणापत्र पनि दिएका छन् ? छैनन् भने ती उम्मेदवारहरूलाई सोध्नुहोस्– तपाईँको दलको घोषणापत्र खोइ ? तपाईँको आफ्नै पनि घोषणापत्र होला, त्यो कहाँ छ ? मतदानका लागि ३४ न बाँकी हुँदा खासमा दलहरूले घोषणा पत्र सार्वजनिक गर्न सकेका छैनन् ।
निर्वाचन आचारसंहिताले दल र उम्मेदवारहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेर प्रचारमा जानुपर्ने उल्लेख गरेको छ। त्यतिमात्र होइन, घोषणापत्र कार्यान्वयनको अवस्थासमेत मतदातालाई जानकारी गराउनुपर्ने भनिएको छ। तर दलहरूको प्राथमिकतामा प्रचारप्रसार छ, घोषणापत्र छैन।
निर्वाचनको प्रचारप्रसारमा लागिरहेका दल र उम्मेदवारसँग अहिले मतदाताले उनीहरूका घोषणापत्र खोजिरहेका छन् । तर अधिकांश दल र उम्मेदवारले घोषणापत्र बनाएकै छैनन्। जस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका वरिष्ठ नेता बालेन्द्र शाहले घोषणा पत्रबिना नै आफ्नो निर्वाचन क्षेत्र झापादेखि कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्लाहरूमा चुनावी भेटघाट गरिरहनु भएको छ ।
रास्वपाका अन्य उम्मेदवारहरू पनि घोषणापत्रविना नै निर्वाचन क्षेत्रमा मतदातासँगको भेटघाटमा व्यस्त छन् । रास्वपामात्र होइन, मुख्य मानिएका नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीलगायतका राजनीतिक दलले अहिलेसम्म घोषणापत्र बनाएका छैनन्। पहिलोपटक मतदान गर्न लागेका युवाहरूले त झन् दलहरूसँग जोड दिएकै घोषणापत्र मागिरहेका छन्। तर केही दल र उम्मेदवाबाहेकले घोषणापत्र तयार नै गरेका छैनन्।
निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद १० ले दल र उम्मेदवारहरूले निर्वाचन घोषणा पत्र सार्वजनिक गरी सोको आधारमा प्रचारप्रसार गर्नुपर्ने उल्लेख गरेको छ। सार्वजनिक गर्नेमात्र होइन, राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा यस्तो घोषणापत्र पेस गर्नुपर्ने समेत आचारसंहितामा उल्लेख छ।
आयोगका अनुसार हालसम्म कुनै पनि दलले घोषणापत्र बुझाएका छैनन्। यसपालि निर्वाचनमा ६५ दल प्रतिस्पर्धामा छन् । घोषणा पत्र नलिइ निर्वाचन क्षेत्रका मतदातासम्म पुगेका उम्मेदवार भने पार्टीले घोषणापत्र लेखिरहेको बताउँछन्। मतदाताका मुख्य माग र चाहनाको सम्बोधन हुने गरी घोषणा पत्र बन्ने उनीहरूको दाबी छ। । घरदैलोमै पुगेका उम्मेदवारहरू मतदाताले जे खोज्छन्, त्यहिँ कुरा पुर्याइदिने वाचा गरिरहेका छन्।
एमाले र रास्वपाले फागुनको पहिलो साताभित्र उम्मेदवारहरूको हातमा पार्टीको घोषणा पत्र थमाएर निर्वाचन क्षेत्र पठाउने तयारी भइरहेको बताउँछन् । एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र निर्माण कमिटी बनाएर काम गरिरहेको छ भने रास्वपाले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा घोषणा पत्र निर्माण गरिरहेको छ ।
कांग्रेसले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई घोषणा पत्र लेखनको जिम्मा दिएको छ । नेपाली कम्युनिष्ट पार्टी र उज्यालो नेपाल पार्टीले पनि घोषणा पत्र निर्माणको काम अन्तिम चरणमा पुर्याएको भनेका छन् । तर मतदाताले प्रश्न गरिरहेका छन् - प्रधानमन्त्रीकै उम्मेदवार तोकेर चुनावी घरदैलोमा पुगिसकेका दलहरूले घोषणापत्र बनाउन र सार्वजनिक गर्न किन ढिलाइ गरेको ?