काठमाडौं । नेपालमा अस्पताल पुग्ने बिरामीको संख्या बढ्दै जाँदा सबैभन्दा ठूलो चुनौती बनेको छ नसर्ने रोग ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले उपचारका लागि अस्पताल पुग्ने ६० देखि ७० प्रतिशत बिरामी नसर्ने रोगबाट पीडित छन् । मधुमेहदेखि मुटु रोगसम्म फैलँदो यो संकटको एक मुख्य कारण बनेको छ, चिनीजन्य खाद्य तथा पेय पदार्थको बढ्दो प्रयोग ।
तपाईँ बजारमा सहजै खरिद गर्न सकिने बिस्कुट, चकलेटजस्ता खाद्य पदार्थ वा सोडा, इनर्जी ड्रिङ्कलगायतका पेय पदार्थको सेवन कत्तिको गर्नुहुन्छ ? यदि नियमित गर्नुहुन्छ भने विचार गर्नुस, तपाईँलाई लाग्ला खाद्य पदार्थमा मात्र चिनी हुन्छ। तर होइन, यस्ता पेय पदार्थमा समेत चिनीको मात्रा निकै धेरै हुने गरेको छ ।
समान्यतया बुझ्दा एउटा इनर्जी ड्रिंकमा १० चम्चासम्म चिनी हुन्छ भने सोडालगायतका सफ्ट ड्रिङमा साढे ८ चम्चासम्म चिनी हुन्छ । यसरी बजारमा सहज रूपमा पाइने र तुरून्त शक्ति दिने भनिने यस्ता चिनी मिसाइएका खाद्य तथा पेय पदार्थ नसर्ने रोगका प्रमुख कारणमध्ये एक हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा नसर्ने रोगका बिरामीको ग्राफ उकालो लाग्दै गएको छ । सन् २०१० को तथ्याङ्क हेर्ने हो भने नेपालमा हुने कुल मृत्युमध्ये करिब ५१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको थियो । तर अहिले यो तथ्यांक ७१ प्रतिशतसम्म उक्लिएको छ । अर्थात् १५ वर्षमा यो संख्या २० प्रतिशतले बढेको छ ।
अझ महत्वपूर्ण कुरा के छ भने, सन् २०४० सम्ममा कुल मृत्युको करिब ७९ प्रतिशत नसर्ने रोगकै कारण हुने सरकारको प्रक्षेपण छ । मन्त्रालयका अनुसार नेपालमा अहिले स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत नसर्ने रोगका बिरामी छन् ।
यो तथ्यांकले पनि नसर्ने रोगको संक्रमणको अवस्था स्पष्ट पारेको छ । अर्थात् मधुमेह, उच्च रक्तचाप, मोटोपनदेखि मुटु रोग, मिर्गौला रोगलगायतका बिरामीको भार सरूवा रोगको तुलनामा बढी छ । नसर्ने रोग लाग्नुका कारणमध्ये एक हो, चिनी वा चिनीजन्य खाद्य पदार्थको अत्यधिक प्रयोग ।
पछिल्लो समय बजारमा बिस्कुट, चकलेटदेखि पेय पदार्थसम्मको सहज उपलब्धता मात्र नभइ यसको अत्यधिक प्रयोग नसर्ने रोगको कारण बन्दै गएको छ । जसको परिणाम स्वरूप हामी थाहै नपाइ रोगी बन्दै छौं । स्वास्थ्य समबद्ध संस्थाहरूले गरेको अध्ययनअनुसार चिनीजन्य खाद्य तथा पेय पदार्थको प्रयोगले मधुमेहको जोखिम २७ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
यसैगरी उच्च रक्तचापको जोखिम १२ प्रतिशत र मुटुको रक्तनलीसम्बन्धी रोगको जोखिम १७ प्रतिशतले बढ्छ भने हृदयघात तथा पक्षघातबाट हुने मृत्युको जोखिम १३ प्रतिशतले बढाउँछ । अन्तर्राष्ट्रिय मधुमेह महासंघको सन् २०२४ को तथ्यांकअनुसार नेपालमा मधुमेहबाट मात्रै १२ लाख ५९ हजार ९ सयभन्दा बढी वयस्क प्रभावित छन्।
अझ हाम्रो खानपान शैलीका कारण यी र यस्ता नसर्ने रोग लाग्ने उमेर क्रमशः घट्दै गएको छ। अर्थात् सानै उमेरदेखि नसर्ने रोगको गम्भीर संकट निम्तिरहेको छ, जसमा यस्ता चिनीजन्य खाद्य तथा पेय पदार्थको भूमिका महत्वपूर्ण छ । सन् २०२२ को नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कअनुसार सर्वेक्षणको अघिल्लो दिन मात्रै पनि ६ देखि २३ महिनासम्मका ४३ प्रतिशत बालबालिकालाई गुलियो पेय पदार्थ खुवाइएको थियो।
अहिले यस्ता चिनीजन्य खाद्य र पेय पदार्थलगायतको प्रयोगका साथै नसर्ने रोगको जोखिम बढ्दो छ, यसले आउने वर्षहरूमा नसर्ने रोगले देशको स्वास्थ्य प्रणाली झनै बोझिलो बनाउने निश्चित छ । जुन सरकारको समेत टाउको दुखाइको विषय बन्दै गएको छ ।
नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या सर्ने रोगबाट मृत्यु हुनेको संख्या भन्दा बढी हुनुले दीर्घकालीन रूपमा देशको स्वास्थ्य प्रणालीमाथि ठूलो दबाब सिर्जना गर्ने संकेत दिएको छ। त्यसैले तत्कालका लागि मिठो लाग्ने खाद्य तथा पेय पदार्थभन्दा पनि दीर्घकालीन रूपमा स्वास्थ्यलाई फाइदा हुने गरी जीवनशैली परिवर्तन गर्न अब ढिला गर्न हुँदैन।