घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

माघ १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

काठमाडौं । आगामी निर्वाचनमा ६५ दल सहभागी हुँदा हालसम्म ६ दलले मात्र घोषणापत्र सार्वजनिक गरेका छन् । 

निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा पनि ठूला दलहरूले घोषणा पत्र जारी गरेका छैनन् । जनता समाजवादी पार्टी- जसपाले माघ ११ गते जारी गरेको घोषणापत्रमा वर्तमान शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणालीमा व्यापक सुधार गर्नुपर्ने उल्लेख छ । 

यसैगरी उच्चस्तरिय राज्य पुनर्संरचना आयोग २०६८ को प्रतिवेदनका आधारमा राज्य पुनर्संरचना गरी जातीय पहिचान झल्कनेगरी संघीय संरचना निर्माण गर्नुपर्ने जसपाको प्रमुख एजेन्डा रहेको छ । यस्तै राष्ट्रिय जनमोर्चाले माघ १४ गते जारी गरेको घोषणापत्रमा वर्तमान संविधानको रक्षा, भ्रष्टाचारको विरोध, सुशासन र संघीयताको विरोधअन्तर्गत प्रदेश संरचनाको खारेजीलाई मुख्य प्राथमिकतामा राखेर घोषणापत्र जारी गरेको छ ।

यता श्रम संस्कृति पार्टीले गत मंसिर १६ गते सार्वजनिक गरेको घोषणापत्रमा जनता र देशलाई माटोसँग जोड्ने जनाएको छ । पार्टीको मुख्य उद्देश्य श्रमलाई मूल्यांकन गर्नुमात्र नभइ श्रमिकलाई न्याय दिने प्रयास निरन्तर रहने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख गरिएकाे छ ।

उज्यालो नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र समावेशी समाजवादी पार्टीले पनि घोषणा पत्र जारी गरेका छन् । तर अधिकांश दलका उम्मेदवार भने घोषणापत्र बिना मौखिक प्रतिबद्धताको भरमा मतदातासँग मत मागिरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.