थाई राजपरिवार सदस्य सिनेनाथ बिलासकल्यानी लुम्बिनीमा

माघ १६, २०८२ |मनोज पौडेल
थाई राजपरिवार सदस्य सिनेनाथ बिलासकल्यानी लुम्बिनीमा

रूपन्देही । थाई राजपरिवार सदस्य सिनेनाथ बिलासकल्यानी बुद्ध जन्मस्थल लुम्बिनी पुगेर पूजाआजा गर्नुभएको छ । 

भारतबाट स्थलमार्ग हुँदै बिहीबार लुम्बिनी आउनुभएकी बिलासकल्यानी लुम्बिनीस्थित रोयल थाई मोनाष्ट्रीद्वारा आयोजित विशेष पूजाआजामा सहभागी हुनुभयो । शुक्रबार उहाँ थाई एयर फोर्सको चाटर्ड विमानमार्फत बैंकक प्रस्थान गर्नुभएको छ ।

थाई राजा महावजिरालङकोर्नकी कान्छी पत्नी सिनेनाथ बिलासकल्यानीले शुक्रबार बिहान लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुभयो । त्यसपछि पुष्करणी पोखरी परिक्रमा गरेर विश्व शान्ति, सद्भाव, करुणामैत्रीका परित्राण पाठ गर्नुभयो । उहाँलाई भारत र नेपालका लागि थाई धर्मदूतले पूजापाठ गराउनुभयो ।

उहाँले मायादेवी मन्दिर परिसरमा रहेको अशोक स्तम्भमा पूजाआजा तथा विभिन्न मुलुकका भिक्षु-भिक्षुणी तथा उपासका उपासिकासँग भेटघाट गर्दै दुई घन्टा मायादेवी मन्दिरमा बिताउनुभयो । आठ वर्षअघि थाई राजकुमारी महाचक्री सिरिन्धोर्नले लुम्बिनी भ्रमण गरेपछि विस्तारै थाई पर्यटकको लुम्बिनी आगमन बढेको हो । 

अहिले भएको थाई राजपरिवार सदस्यको भ्रमणले थाइल्यान्डका पर्यटक अझै बढ्ने आशा व्यवसायीले राखेका छन् । थाइल्यान्डमा राजपरिवारलाई निक्कै सम्मान गरिने हुनाले राजपरिवारका सदस्यले भ्रमण गरका ठाउँमा थाई नागरिकको पनि भ्रमण बढ्ने अपेक्षा छ । अहिले लुम्बिनीमा चौथौ बढी विदेशी पर्यटक आउने देश हो थाइल्यान्ड ।

बिलासकल्यानी यसपटक बौद्ध धर्मावलम्बीको चारधाम मानिने बौद्धगया, सारनाथ र कुशिनगर पुगेर लुम्बिनी आइपुग्नुभएको थियो । ७० सदस्यीय टोलीको नेतृत्व गर्दै लुम्बिनी आएकी बिलासकल्यानी जनवरी २१ मा भारत आइपुग्नुभएको थियो । थाई राजा महावजिरालङकोर्नले बिलासकल्यानीलाई शाही नोबल कन्सर्ट -अति विशिष्ट राजपरिवार सदस्य उपाधि प्रदान गर्नुभएको छ । 


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।