
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने सडक खण्डमा यातायात अवरूद्ध भएको छ ।
बुधबार परेको वर्षाको कारण सडक चिप्लो हुँदा उकालोमा सवारी उक्लन समस्या भएपछि यातायात एकतर्फी मात्र सञ्चालन भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुधबार दिउँसो २ बजेदेखि विनयी त्रिवेणी गाउँपालिका-२ घिउखोला र विश्वकर्मा मन्दिर नजिकै सवारी सञ्चालन हुन नसक्दा यातायात अवरूद्ध भएको हो । दाउन्ने खण्डमा अहिले दुई सय बढी सवारीसाधन जाममा फसेको छ ।
दुम्किबासबाट बर्दघाटतर्फ जाने सवारी सडक चिप्लो हुँदा सञ्चालनमा असहजता भए पनि बर्दघाटबाट दुम्किबासतर्फ आउने सवारी एकतर्फी रूपमा सञ्चालन भइरहेकाे छ । तर लामो जामको कारण बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
विस्तारको क्रममा रहेको बुटवल नारायणगढ सडक खण्डमा दाउन्नेमा अहिले सडक ढलानको काम भैरहेको छ । दाउन्नेमा बाक्लो हुस्सु र सामान्य वर्षामा पनि सडक चिप्लो हुँदा यातायात अवरूद्ध हुदै आएको छ ।