काठमाडौं । राजनीतिक दल तथा नेताहरू फागुन २१ को निर्वाचनका लागि भोट माग्न व्यस्त रहँदा संघीय संसद् सचिवालयलाई भने निर्वाचित जनप्रतिनिधिहरूको बैठक कहाँ राख्ने भन्ने पिरलो छ ।
विगतमा संसद् भवनको रूपमा प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन-जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएपछि विकल्प नखोजी सुक्ख छैन । सिंहदरबार परिसरमा निर्माणाधीन भवनको काम भने अझै धेरै बाँकी छ । प्रतिनिधि सभाको बैठक सिंहदरबारभित्रै बस्ने गरी अबको ४५ दिनभित्र तयार पार्ने भवन निर्माण विभागले दाबी गरेको छ ।
संसद् भवनको रूपमा प्रयोग हुँदै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन-जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएपछि सिंहदरबारमा निर्माणाधीन नयाँ भवनको निर्माण तीव्र पारिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले अबको ४५ दिनभित्र संघीय संसद् सचिवालयलाई हस्तान्तरण गर्नेगरी काम भइरहेको र नयाँ सदनको पहिलो बैठक नयाँ भवनमै बस्ने दाबी गरेको छ ।
निर्वाचन परिणाम घोषणा गरेको ३० दिनभित्र बैठक बोलाउनुपर्ने संवैधानिक प्रावधान रहेकाले त्यसअघि नै सरकारले भवन उपलब्ध गराउनुपर्ने संसद् सचिवालयको माग छ । भवन उपलब्ध गराएपछि कम्तिमा १५ दिनको समय आन्तरिक व्यवस्थापनको तयारी गर्नकै लागि लाग्ने संसद् सचिवालयका महासचिव पदम पाण्डे बताउनुहुन्छ ।
प्रति वर्ष १५ करोड रुपैयाँ भाडा तिरेर संघीय संसद्का दुवै सदनको बैठक सञ्चालन हुँदै आएकोमा जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएपछि नयाँ भवन निर्माणलाई तीव्रता दिइएको हो । सिंहदरबार परिसरमा १ सय ५६ रोपनी क्षेत्रफलमा निर्माणाधीन भवनको काम ८८ प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ७७ प्रतिशत छ ।
२०७६ असोज १६ गते तीन वर्षमा काम सक्ने गरी ६ अर्ब २९ करोड २७ लाखमा ठेक्का लगाइएकोमा पाँचौ पटक थपिएको म्याद पनि गत पुस १६ मै सकिइसकेको छ । अहिले छैंटौ पटक म्याद थप्ने तयारी भइरहेको छ । भवन विभागले थपिएको म्यादभित्रै सम्पूर्ण काम सक्ने भने पनि काम अझै धेरै बाँकी छन् ।