काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमार्फत सांसद छान्न अब दुई साताको समय बाँकी छ ।
देशकै सबभन्दा चासोका साथ हेरिएको दुई भावी प्रधानमन्त्रीका दाबेदार रहेको झापा-५ को स्थलगत रिपोर्टका लागि कान्तिपुर टेलिभिजन टीम पुगेर वस्तुस्थिति बुझ्ने प्रयास गरेको छ ।
झापा-५ अन्तर्गत सेतुमारी धिमाल बस्तीमा चुनावको रौनक अलिक फरक देखिएको छ । के छ त भावी प्रधानमन्त्रीको उम्मेदवार नै अघि सारेर चुनावी प्रतिस्पर्धामा रहेको झापा-५ को सेतुमारी धिमाल बस्तीको माग ? चारवटा स्थानीय तह समेटिएको झापा निर्वाचन क्षेत्र नम्बर ५ को चुनावी मैदानमा रहेका विभिन्न दलका उम्मेदवार आफैंले जित्ने दाबी गरिरहँदा सेतुमारी धिमाल बस्तीका मतदाताको कुरा सुन्न हामी यो बस्ती पुगेका छौं ।
विगतका निर्वाचनमा भोट दिए पनि आफ्ना माग पूरा नभएको भन्दै यहाँका मतदाता बेखुसी छन् । उनीहरूको मुख्य समस्या भनेकै तीन पुस्तासम्म आइपुग्दा पनि लालपूर्जा नपाउनु हो । सेतुमारीका चन्द घिमालले भनेजस्तै यो निर्वाचन क्षेत्रमा तत्काल सम्बोधन गर्नुपर्ने समस्या भनेको बाउबाजेका पालादेखि नपाएको जग्गाको लागपूर्जा नै हो ।
यसपटक पनि लालपूर्जाको मुद्दा सम्बोधन गरिदिने उम्मेदवारको खोजीमा यहाँका मतदाता रहेका छन् । नेताहरूले पटकैपटक आश्वासन दिए पनि पूरा नभएकाले लालपूर्जा उनीहरूले लालपूर्जा पाउनै आशा नै मारिसकेका छन् । धिमाल बस्तीका ७० घरधुरीले बाउबाजेकै पालादेखि लालपूर्जा नपाउँदा अब जित्ने नेताले पनि आफ्नो समस्या समाधान गरिदेलान् भन्नेमा आश्वस्त देखिँदैनन् ।
फागुन २१ गते हुनगइरहेको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा यो बस्तीमा एमाले र रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका केपी शर्मा ओली र बालेन्द्र शाहसहित अन्य राजनीतिक दलका उम्मेदवार पनि पुगेर मत मागिसकेका छन् । धिमाल बस्तीको लालपूर्जाको विषय नयाँ नभएको तर भोट माग्ने भने एजेन्डा बनिरहेको छ ।
यो समस्या धिमाल बस्तीको मात्र नभएको भन्दै सरकार गठन र विघटनका कारण पनि लालपूर्जा वितरणमा समस्य देखिएको स्वयम् नै उनीहरू बताउँछन् । कुरा लालपूर्जाको मात्र होइन धिमाल बस्तीमा स्वास्थ शिक्षालगायतका थुप्रै अरू समस्याहरू पनि छन् ।
सेतुमारी धिमाल बस्तीका लागि लालपूर्जाको समस्या नौलो होइन । तर बाजे बाउ र नातीपुस्तासम्म आइपुग्दा पनि पटक पटकको निर्वाचनमा मत माग्न आउने उम्मेदवारले समाधान गर्छु भनेर भोट माग्न आउँदा भने उनीहरूलाई नेताहरूलाई आफ्नो समस्या बल्झाइराखेर भोट माग्ने बहाना मात्रै बनाइरहेका त छैनन् भन्ने लाग्न थालेको छ ।