के-के विषय समेटिएको छ त कांग्रेसको प्रतिज्ञापत्रमा ? (पूर्णपाठसहित)

फाल्गुन ६, २०८२ |नारायण किलम्बू
के-के विषय समेटिएको छ त कांग्रेसको प्रतिज्ञापत्रमा ? (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसले रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षालगायतका १० वटा विषयलाई प्राथमिकता दिँदै चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । 

निर्वाचनको १५ दिन बाँकी रहँदा कांग्रेसले जनकपुरमा आयोजित चुनावी सभाबीच घोषणापत्र सार्वजनिक गरेको हो । सुशासन र समुन्नतिको भिजन टेन नाम दिइएको घोषणापत्रको विस्तृत अंश भने बिहिबार राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । 

के-के विषय समेटिएको छ त कांग्रेसको प्रतिज्ञापत्रमा ? कस्ता प्रतिबद्दता छन् ?

नेपाली कांग्रेसले जेन-जी विद्रोहलाई आत्मसाथ गर्दै नेपालको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुने गरी सम्मानपूर्वक बाँच्न पाउने नेपालको निर्माण गर्ने दृष्टिकोण प्रतिज्ञापत्रमार्फत अघि सारेको छ । उच्चशिक्षाको नाममा होस या कामको सिलसिलामा, दैनिक दुई हजारभन्दा बढी युवा विदेशिइरहेको सन्दर्भमा कांग्रेसले स्वदेशमै मर्यादित रोजगारी र आकर्षक अवसर सिर्जना गर्ने घोषणा गरेको छ । 

सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपालको निर्माण गर्दै घोषणा गर्दै कांग्रेसले आँट गरेर लगानी गर्ने र उत्पादनमा जोड दिने व्यवसायीलाई प्रोत्साहन गर्दै पछाडी परेकालाई आय र सम्पति आर्जन गर्न सक्षम बनाउने वाचा गरेको छ । पेटभरी खुवाउने र देशलाई चिनाउने किसानको नेपाल निर्माणको घोषणा गर्दै कांग्रेसले कृषिलाई मर्यादित पेसा बनाइ कृषिमा प्रविधिको पहुँच बनाउने र युवालाई भरोसा गर्न लायक मुलकु बनाउने प्रतिबद्धता गरेको छ । 

यस्तै स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारको रूपमा स्थापित गर्दै औषधि र अस्पतालमा सहज पहुँच र स्वास्थ्य विमा प्रणालीलाई जिम्मेवार बनाउने घोषणा गरेको छ । राजनीतिक हस्तक्षेपले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा अस्तव्यस्त भैरहेको सन्दर्भ कांग्रेसले छोराछोरी पढाउन आर्थिक भार नपर्ने गरी जीवनउपयोगी र विश्वप्रतिस्पर्धी गुणस्तरीय शिक्षा दिने दृष्टिकोण अघि सारेको छ । 

विश्वविद्यालयलाई दलीय भागबन्डाबाट मुक्त गरी प्राज्ञिक स्वायत्त संस्थाको रूपमा विकास गर्ने र योग्यतम व्यक्ति नियुक्तिमा प्राथमिकता दिने कांग्रेसको योजना छ । बेथिति र हैरानीमुक्त विधिको शासन स्थापना गर्न र लोकतान्त्रिक पहुँच सुनिश्चित गर्दै घरमै बसेर सेवा पाउने वातावरण बनाउने घोषणा कांग्रेसको छ । 

प्रविधिको प्रयोगले भष्ट्राचार र सरकारी ढिलासुस्ति समाप्त पार्ने योजना अघि सार्दै कांग्रेसले मौलिकतामा गर्व गर्ने आधुनिक नेपालको निर्माण गर्ने भनेको छ । सगरमाथा र बुद्धको देश मात्र नभइ नेपाललाई विश्वले सम्मान गर्ने स्वाभिमानी नेपालको निर्माण र समुन्नतिमा लम्कनेगरी कृषि, पर्यटन, उर्जा, सूचना-प्रविधि तथा खेलकुद विकासमा जोड दिएको छ । 

२०७९ को चुनावी घोषणापत्रमा कांग्रेसले पाँच वर्षमा साढे १२ लाखलाई रोजगारी दिने, न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि, रासायनिक मल कारखाना स्थापना,  पाँच वर्षमा वार्षिक २० लाख पर्यटक भित्र्याउने र सबै राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने वाचा गरेको थियो ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।