कर्णालीका आठ जिल्लामा एमाले र प्रलोपाबीच चुनावी तालमेल गर्ने सहमति

माघ ११, २०८२ |देव राना
कर्णालीका आठ जिल्लामा एमाले र प्रलोपाबीच चुनावी तालमेल गर्ने सहमति

सर्खेत । कर्णाली प्रदेशका आठ जिल्लामा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी-प्रलोपाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। 

कर्णालीका १० जिल्लामध्ये हुम्ला र जुम्लाबाहेकका अरूमा तालमेल गर्ने सहमति भएको हो । एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष परिषद् सदस्य दुर्गा सोबले आइतबार सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ । सहमतिअनुसार रूकुमपूर्व र पश्चिममा एमालेले प्रलोपाका उम्मेदवारलाई सघाउने र साविक राप्ती अञ्चलका जिल्लाहरूमा एमालेलेका उम्मेदवारहरूको पक्षमा प्रलोपाका मतदाताले मतदान गर्ने उल्लेख छ। 

अब रूकुमपश्चिम एमालेका उम्मेदवार नन्दराम देवकोटा र रूकुमपूर्वमा लिलामणि गौतमको उम्मेदवारी निष्कृय हुनेछ । एमालेका मतदाताले रूकुमपश्चिममा प्रलोपाका जनार्दन शर्मा र रूकुमपूर्वमा प्रलोपाकै सन्दीप पुनलाई आँखा चिन्हमा मतदान गर्नुपर्नेछ । 

सहमति-पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ । रूकुमपूर्वमा जनार्दन शर्माले २०६४ सालयताका सबै निर्वाचनमा तत्कालीन माओवादीबाट जित हात पार्दै आउनुभएको छ । तर माओवादीले विभिन्न दलसँग एकता गरी नेकपा गठन गरेपछि शर्मा उक्त एकतामा नगइ प्रलोपा गठन गर्नुभएको हो । 

आसन्न निर्वाचनका लागि दुवै पार्टीका उम्मेदवारहरूको उम्मेदवारी कायम भइसकेपछि भएको सहमतिले जनार्दन शर्मा र सन्दीप पुनलाई के-कति सघाउ पुग्छ भन्ने अहिल्यै भन्न सक्ने अवस्था छैन । हुम्ला र जुम्ला बाहेकका कर्णालीका अरू सबै जिल्लामा प्रलोपाले एमालेको चुनाव चिन्हमा मतदान गर्ने सहमति भएको छ ।


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।