लुम्बिनीबाट राष्ट्रिय सभामा झाक्री, केसी र घिमिरे विजयी

माघ ११, २०८२ |अमर क्षितिज भण्डारी
लुम्बिनीबाट राष्ट्रिय सभामा झाक्री, केसी र घिमिरे विजयी

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा कांग्रेस–एमाले गठबन्धनका तीन उम्मेदवार विजय हुनुभएको छ । 

आइतबार भएको मतदानबाट महिला कोटामा एमाले गुल्मीकी रामकुमारी झाक्री, अपांग कोटामा नेपाली कांग्रेसका दाङका बासुदेव घिमिरे र अन्य कोटाबाट नेपाली कांग्रेसका उम्मेदवार गुल्मीका चन्द्रबहादुर केसी विजय हुनुभएको हो ।

निर्वाचनमा जिजयी रामकुमारी झाक्रीले प्रदेशतर्फ छ हजार तीन सय तीन र स्थानीय तहतर्फ दुई हजार नौ सय ६४ गरी जम्मा नौ हजार दुई सय ६७ मतभार प्राप्त गर्नुभएको छ भने अपांग-अल्पसंख्यातर्फ विजयी बासुदेव घिमिरेले आठ हजार तीन सय पाँच मतभार प्राप्त गर्नुभएको छ । उहाँले प्रदेशतर्फ पाँच हजार तीन सय २२ र स्थानीय तहतर्फ दुई हजार नौ सय ८३ प्राप्त गर्नुभएको हो । 

त्यसैगरी अन्य कोटाबाट चन्द्रबहादुर केसीले प्रदेशतर्फ पाँच हजार नौ सय ७७ र स्थानीय तहतर्फ दुई हजार आठ सय ५० गरी जम्मा आठ हजार आठ सय २७ मतभार प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभएको छ ।

निर्वाचनमा पराजित महिला कोटामा नेपाली कम्युनिष्ट पार्टीबाट पाल्पाका दुर्गाकुमारी भण्डारीले प्रदेशतर्फ एक हजार तीन सय ६२ र स्थानीय तहतर्फ सात सय ७९ गरी जम्मा दुई हजार एक सय ४१ मतभार प्राप्त गर्नुभएको छ भने अपांग-अल्पसंख्याक कोटामा बाँके निवासी सर्जन बिकले प्रदेशतर्फ एक हजार छ सय एक र स्थानीय तहतर्फ नौ सय १२ गरेर दुई हजार पाँच सय १६ मतभार प्राप्त गर्नुभयाे ।

अन्यमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का बृहस्पति अधिकारीले प्रदेशतर्फ एक हजार आठ सय ३२ र स्थानीय तहतर्फ नौ सय ३१ गरेर जम्मा दुई हजार सात सय ६३ मतभार प्राप्त गर्नुभयो । त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट महिला कोटामा उम्मेदवार बन्नुभएकी प्युठान निवासी पद्मा पण्डितले प्रदेशतर्फ एक सय ५२ र स्थानीय तहतर्फ एक सय ३३ गरेर दुई सय ८५ मतभार र अन्यमा उम्मेदवार बन्नुभएका प्युठानकै बोमबहादुर खत्रीले प्रदेशतर्फ एक सय ३३ र स्थानीय तहतर्फ एक सय १४ गरेर दुई सय ४७ मतभार प्राप्त गर्नुभयो । 

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानका क्रममा दुई सय ८६ मतदान भएको थियो । जसमा प्रदेश सभातर्फ ७८ जना र स्थानीय तहतर्फ दुई सय आठ जनाले मतदान गर्नुभएको थियो । निर्वाचनमा प्रदेशसभातर्फ पाँच जना र स्थानीय तहतर्फ आठ जना मतदाता उपस्थीत हुनुभएको थिएन ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।