
धनुषा । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा सबै तयारी पूरा भएको छ ।
मधेश प्रदेशबाट चार जना सदस्यका लागि माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि तोकिएको जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा सम्पूर्ण तयारी पूरा भएको हो । सय जना मतदाता रहेको प्रदेश सभा सदस्यका लागि मतदान केन्द्र 'क' र २ सय ६४ जना मतदाता रहेको स्थानीय तहका लागि मतदान केन्द्र 'ख' निर्धारण गरिएको छ ।
उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी विरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरण लगायतका कार्य यसअघि नै समपन्न भइसकेको छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि मतपत्रसमेत निर्वाचन अधिकृतको कार्यालयमा आइसकेको बताइएको छ । मधेश प्रदेश बाट चार जना राष्ट्रिय सभा सदस्यका लागि ११ जना प्रतिस्पर्धामा उत्रेका छन् ।