
पाेखरा । आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार कार्यालयको परिसरमा मतदान केन्द्र, आवश्यक भौतिक व्यवस्थापन साथै कर्मचारीको व्यवस्थापन भइसकेको छ । राष्ट्रिय सभा सदस्यका लागि गण्डकीबाट दुई सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
महिलाबाट तीन र अन्य क्लष्टरमा तीन गरी ६ जनाको उम्मेदवारी परेको हो । खुलाबाट नारायणकाजी श्रेष्ठ र महिला खुलामा भगवती न्यौपाने ६ वर्षे कार्यकाल सकेर बिदा हुने भए पछि निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभामा कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने अन्य दलहरू एकल प्रतिस्पर्धामा उत्रिएका छन् ।
गठबन्धनका तर्फबाट महिलामा एमालेबाट गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दिनुभएकाे छ । नेपाली कम्युनिष्ट पार्टीबाट गोमा घिमिरे रूची र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बाँस्कोटाको उम्मेदवारी परेको छ । अन्य समूहमा गठबन्धनबाट कांग्रेसका प्रा.डा. जगत तिमिल्सिनाको उम्मेदवारी पर्दा नेकपाले कपिल लामा र जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको छ ।
गण्डकीमा कांग्रेस र एमाले गठबन्धनले दुवै सिट जित्ने निश्चितजस्तै छ । गण्डकीका ५९ प्रदेशसभा सदस्य र एक सय ७० स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मतदाता छन् । प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ छ ।
त्यसमध्ये कांग्रेसका २७ सांसद छन् । उनीहरूको मतभार १ हजार ४ सय ३१ हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुखमध्ये कांग्रेसबाट ६६ जना निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार २ दुई सय ५२ पुग्छ । २२ सांसद रहेको एमालेको प्रदेश सभामा १ हजार १ सय ६६ मतभार छ भने ७० जना स्थानीय तहका जनप्रतिनिधिको १ हजार ३ सय ३० मतभार हुन्छ ।
दुवै दलको मतभार जोड्दा ५ हजार १ सय ८१ पुग्छ । यो मतभार दुई तिहाइ भन्दा बढी हो । गण्डकीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सात सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन् । उनीहरूको मतभार ९ सय ४१ मात्रै हुन्छ । यस्तै राष्ट्रिय जनमोर्चासँग ७६ मतभार छ ।
स्थानीय तहमा चारवटा पद जनमोर्चाले जितेको थियो । राप्रपासँग १ एक सय ६ मतभार छ । प्रदेश सभामा दुई सांसद राप्रपाका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको पनि एक सांसद छन् । उक्त दलको ५३ मतभार हुन्छ ।