सर्लाही-४ मा गगन भर्सेस अमरेश : कांग्रेसको गढमा प्रतिष्ठाको महासंग्राम

अबकी बार’को भिडन्त : ‘गगन सरकार’ बनाम ‘बालेन सरकार’
माघ १०, २०८२ |ओमप्रकाश ठाकुर
सर्लाही-४ मा गगन भर्सेस अमरेश : कांग्रेसको गढमा प्रतिष्ठाको महासंग्राम

सर्लाही । नेपाली कांग्रेसको गढ मानिएको सर्लाहीको क्षेत्र नम्बर ४ यतिवेला राष्ट्रिय चर्चाको केन्द्र बनेको छ । 

कांग्रेसबाट दुई पटक तथा कांग्रेसले नपत्याएर गत निर्वाचनमा स्वतन्त्रबाट गरी तीन पटक विजयी भई हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोयन दर्ता गराएका अमरेश कुमार सिंह र कांग्रेसका सभापति गगन कुमार थापाको आगमनले चुनावी माहोल तातेको हाे । 

यस क्षेत्रमा लागातार तीन पटक चुनाव जित्नुभएकाे अमरेशसँग कांग्रेस सभापति थापाको प्रतिस्पर्धा हुने भएपछि मतदातामा उत्साह थपिएको छ । क्षेत्र-४ मा कांग्रेस पक्षले ‘अबकी बार गगन सरकार’ तथा रास्वपा पक्षले ‘अबकी बार बालेन सरकार’ को नारा बनाएका छन् ।

ठूला पार्टीका सभापति तथा प्रधानमन्त्रीको रूपमा समेत अघि सारिएको थापा आफ्नो क्षेत्रमा आएपछि कार्यकर्तासहित मतदाता उत्साहित छन् भने सिंह निकट कार्यकर्ताले चौथो पटक जित्ने रणनीति बनाउँदै छन् । २०४८ को चुनावदेखि नै कांग्रेसको गढ मानिएको यस क्षेत्रमा गत चुनावमा कांग्रेसका बागी बनेका अमरेश कुमार सिंह तथा २०६४ को संविधान सभाबाहेक निर्वाचन परिणाम कांग्रेसको पक्षमा छ ।

लगातार तीन पटक जित निकाल्दै चौथो पटकका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावमा होमिएका सिंह कांग्रेस सभापति थापाकालागि चुनौती बन्न सक्नेछन् । यस क्षेत्रमा जातिय मत, परम्परागत विजयी र कांग्रेसको बलियो संगठन नै चुनावको आधार बन्ने देखिन्छ । सिंहसँग परम्परागत विजयी भएकोमा हौसिएका छन्, भने कांग्रेसको वडा-वडामा संगठन भएकोले प्रतिस्पर्धा उच्च छ ।

बरहथवा, गोडैता, बलरा नगरपालिका तथा बसबरिया, विष्णु, धनकौल र रामनगर गाउँपालिकाका ५१ वटा वडा यस क्षेत्रमा पर्छ । कुल १ लाख २१ हजार १२ मतदाता रहेको क्षेत्र नम्बर ४ मा ८१ मतदान स्थल तथा १ सय ५४ मतदान केन्द्र छन् ।


Image

ओमप्रकाश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका सर्लाही संवाददाता हुन् ।