
बाजुरा । लगातारको मौसम बदलीपछि वर्षासँगै बाजुरामा हिमपात भएको छ । यहाँका उच्च लेकाली भेगहरुमा शुक्रबार रातिबाट हिमपात सुरु भएको हो ।
वर्षासँगै हिमपात भएपछि यहाँका किसानहरु खुसी भएका छन् । हिमपात भएपछि यहाँका बडीमालिका, बुढीगंगा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरुमा हिमपात भएको छ ।
हिमपात भएपछि डाँडाहरु सेताम्ये भएका छन् । वर्षापछि हिमपातले स्थानीयहरु प्रभावित बनेका छन् । हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा बालबालिका र दीर्घरोगीहरु बढी प्रभावित भएका छन् । बाक्लो हिमपात भएपछि यहाँका बडीमालिका,पोरखेलेक,कालाजग्रा,बुढीनन्दा रानीसैन लगायतका अग्ला डाँडाहरु सेताम्ये बनेका छन् । वर्षासंगै हिमापात भएपछि सुक्न लागेको गहुँ बालीलाई राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसीराम सहानीले बताउनुभयो ।
वर्षासँगै हिमपात हुँदा किसानहरुलाई राहत पुग्नुका साथै सुक्न लागेको गहुँ बाली सप्रिने सहानीले बताउनुभएको छ । गहुँ बालीसंगै चैतमा लगाउने धान बालीका लागि समेत सहज भएको प्रमुख साहनीको भनाई रहेको छ ।