१ करोड ५० लाख समानुपातिक तर्फको मतपत्र छपाइ सकियो

माघ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
१ करोड ५० लाख समानुपातिक तर्फको मतपत्र छपाइ सकियो

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिकतर्फको १ करोड ५० लाख मतपत्र छपाइ भइसकेको बताउनुभएको छ । बाँकी ५० लाख मतपत्र दुई दिनभित्र सकिने उहाँले बताउनु भयो ।

आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले देशभर मतदाता संख्या १ करोड ८९ लाख रहेको र त्यसमा सात प्रतिशत बढी मतपत्र छाप्ने गरी आयोगले निर्णय गरेकाेले समानुपातिकतर्फको १ करोड ५० लाख मतपत्र छपाइ भइसकेको बताउनुभएको हाे । 

प्रत्यक्षतर्फको निर्वाचन चिन्ह प्रदान गरिसकेपछि त्यसको मतपत्र डिजाइन गरेर मतपत्र छपाइको काम सुरू हुने उहाँले बताउनु भयो । समानुपातिकको मतपत्र देशभरको एउटै हुने र प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रगत रूपमा फरक फरक हुने जानकारी समेत उहाँले दिनुभयो । यो महिनाभित्रमा मतपत्र छपाइको काम सम्पन्न गर्नेगरी काम भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बन्दसूची पेस भइसकेपछि बन्दसूचीमा नाम पेस गरेका जम्मा ५८ वटा निर्वाचन चिन्हलाई कायम गरेर निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मत पत्र छपाइको काम सुरू गरिसकेको छ । देशभरको मतदाता संख्या १ करोड ८९ लाख हो । त्यसमा ७ प्रतिशत बढी मतपत्र छाप्ने गरी आयोगले निर्णय गरेको छ । हामीले दुई करोडमा केही बढी मतपत्र छाप्नुपर्नेछ । समानुपातिकतर्फको १ करोड ५० लाख मतपत्र छपाइ भइसकेको छ । बाँकी ५० लाख मतपत्र केही दिनमा सकिन्छ । त्यसलगत्तै आज प्रत्यक्षतर्फको निर्वाचन चिन्ह प्रदान गरिसकेपछि त्यसको मतपत्र डिजाइन गरेर मतपत्र छपायको काम सुरू हुनेछ । समानुपातिकको मतपत्र देशभरको एउटै हुन्छ । प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रगत रूपमा फरक फरक हुन्छ । यो महिनाभित्रमा मतपत्र छपाइको काम सम्पन्न गर्नेगरी काम गरिरहेका छौँ ।’

मतदाता नामावलीको काम पनि निर्वाचन आयोगमा भइरहेको उहाँले बताउनु भयो । चारप्रति मतदाता नामावली छपाइ गर्नुपर्नेमा एकप्रति मतदाता नामावली छापेर सबै जिल्लामा पुर्‍याइसकेको उहाँले जानकारी दिनुभएकाे छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.